– अभियन्ता यादवलाल कायस्थको पहलमा बजेट व्यवस्था
-सधंै पानी आउने बनाउन पहल गरिने
– एक वर्षमा दर्जन बढी ढुंगेधारा उत्खनन र पुनःनिर्माण
काठमाडौं ।
जमिनमुनिको ढुंगेधारा उत्खनन गरी जनताको सहभागितामा ढल्को स्वयम्भु मार्गमा कलात्मक ढुंगेधारा पुनःनिर्माण भएको छ । कामपा–१७ मा रहेको सो ढुंगेधारा करिब सय वर्षअघि जनतालाई पानी व्यवस्थापन गर्न निर्माण गरिएको बताइन्छ ।
सम्पदा अभियन्ता यादवलाल कायस्थको पहलमा काठमाडौं महानगरपालिकाको १४ लाख रुपियाँको बजेटमा सो ढुंगेधारा पुनःनिर्माण गरिएकोे हो । यजु नकर्मीको अध्यक्षतामा पुनःनिर्माण सम्पन्न भएको थियो । अभियन्ता कायस्थका अनुसार पुनःनिर्माण सुरु भएको ७ महिनामा धाराबाट पानी आउन थालेको छ ।


चार दिनअघि अभियन्ता कायस्थले उद्घाटन गर्नुभएको सो ढुंगेधारा मल्लकालमा निर्माण भएको हुनसक्ने अनुमान छ । उहाँका अनुसार रजक अर्थात धोबी समुदायले लुगा धुनलाई प्रयोग गर्ने गरेको उक्त ढुंगेधारा वर्षौंदेखि पुरिएको जानकारी पाएपछि स्थानीयको सहयोगमा पुरातत्व विभागसहितको टोलीबाट उत्खनन भएको हो ।
‘पुनःनिर्माण गरिएको ढुंगेधारा कलात्मक छ । सबैतिर दाचीअप्पा प्रयोग गरिएको छ । फलामको बार लगाएका छैनौं, सय वर्ष पुरानै देखिनेगरी पुनःनिर्माण सम्पन्न गरेका छांै’ – अभियन्ता कायस्थले भन्नुभयो । स्थानीयले उक्त ढुंगेधारामा सधैं पानी आउने व्यवस्था गर्न मुहान खोजी गर्ने पहल गरिरहेका छन् । रजक बस्ती रहेको सो क्षेत्रमा सयवर्ष पुरानो धारा जस्ताको तस्तै देखिएपछि स्थानीय खुसी भएका छन् ।
यसैबीच अभियन्ता कायस्थको टोलीले बौद्धनाथस्थित सिद्धार्थ बुटिक होटल र गुम्बासँगै रहेको ढुंगेधारा उत्खनन गरेको छ । सो धारा उत्खनन गरेसँगै होटलले ढुंगेधारा पुनःनिर्माण गर्न केही जग्गा दिने भएकोे छ । शनिवार होटल सञ्चालक र स्थानीयबीच ढुंगेधारा स्थापना गर्न र त्यस परिसरमा जग्गा दिने सहमति भएको थियो । उपत्यकामा पुरिएको धारा उत्खनन गरी संरक्षण गर्ने अभियानमा लाग्नुभएका कायस्थले यसअघि विजेश्वरी र स्वयम्भुको जमिनमुनि रहेको धारा उत्खनन गरेर पुननिर्माण सुरु गरेको छ ।
‘दरबारमार्गमा पुननिर्माण अन्तिम चरणमा छ । विजेश्वरी र स्वयम्भुमा पुनःनिर्माण सुरु भएको छ‘–अभियन्ता कायस्थले नेपाल समाचारपत्रसँग भन्नुभयो । सयौं वर्ष पुराना ढुंगेधारा रहेको स्थान पहिचान गरी पुरिएको धारा खोज्ने र पुनःनिर्माण गर्ने अभियानमा रहेका अभियन्ता कायस्थका अनुसार पछिल्लो दुई वर्षमा दर्जनबढी ढुंगेधारा उत्खनन गरी पुननिर्माण भइरहेको छ । केही पुनःनिर्माण सम्पन्न भइसकेको छ भने केही पुनःनिर्माणको चरणमा छ ।













प्रतिक्रिया