आगामी निर्वाचनमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान


काठमाडौँ। 

निर्वाचन आयोगले अगामी फागुन २१ गते प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले शुक्रवार दुवै निर्वाचनका लागि फरक-फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो।

 आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्नका लागि आह्वान गरेकाे छ । निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार दर्ताका लागि दलले संवैधानिक र कानूनी आधारहरू पूरा गरेको प्रमाणित गर्नुपर्ने छ । 

निर्वाचन प्रयोजनको लागि आयोगमा दल दर्ता गर्न यसअघि नै आयोगमा दर्ता भएको हुनुपर्ने, विगतका वर्षहरूका लेखापरीक्षणहरू आयोगमा बुझाएको, केन्द्रिय समितिको बहुमतले निर्णय गरेको, विधान तथा नियमावली अद्यावधिक गरेको, संविधान र निर्वाचन ऐनअनुसार लोकतान्त्रिक चरित्र पूरा गरेको तथा विधानमा तोकिएअनुसार महाधिवेशन सम्पन्न भएको हुनुपर्ने उनले बताए ।

१९ जना राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएर आगामी फागुन २० गतेबाट बिदा हुँदैछन् । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो। जेनजी विद्रोहपछि गठित नागरिक सरकारले प्रतिनिधि सभा विघटन गरी अगामी फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिरहेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य जारी रहेको बताए।

परिपत्रकौ डेटाका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य शुरु गरेसँगै सेवाग्राहीको चाप बढेपछि उत्पन्न भएका प्राविधिक समस्या समाधान इन्जिनियरहरू परिचालन गरेको समेत उनले बताएका छन् । सबै नागरिकको मताधिकार सुनिश्चित गर्ने उद्देश्यले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य जारी रहेको आयोगका प्रवक्ता भट्टराईले बताए।