काठमाडौं
विश्व विज्ञान दिवस २०२५ को अवसरमा एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (आइडिया)ले बिहीबार काठमाडौंमा ‘कनेक्टिभिटी, जलवायु कार्य र स्वच्छ ऊर्जा’ विषयक गोलमेच छलफलको आयोजना गर्यो । कार्यक्रममा सहभागीहरूले नेपालले विज्ञान–आधारित नीतिनिर्माणमा अब ढिलाइ गर्न नहुने निष्कर्ष निकालेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै वातावरण, विज्ञान तथा प्रविधिका पूर्वमन्त्री ई. गणेश शाहले विज्ञानलाई ‘विकास, कूटनीति र जलवायु प्रतिरोधी समाज निर्माणको आधार’ भन्दै दक्षिण एसियाली सहकार्य बलियो बनाउन आग्रह गरे।

छलफलमा कनेक्टिभिटी, जलवायु जोखिम र स्वच्छ ऊर्जा रूपान्तरण गरी तीन प्रमुख विषयमा छलफिल गरिएको थियो ।
कार्यक्रममा आइडियाका फेलो लक्ष्मण बहादुर बस्नेतले भविष्यको कनेक्टिभिटी विज्ञान, डेटा र स्मार्ट पूर्वाधारमा निर्भर रहने बताउँदै नेपाललाई क्षेत्रीय डिजिटल र भौतिक नेटवर्कमा छिट्टै अनुकूलन आवश्यक रहेको बताए। जलवायु अनुकूलन विज्ञ उज्ज्वल उपाध्यायले बढ्दो बाढी–पहिरो, सूखा र हिउँ पग्लिने दर स्मार्ट निगरानी प्रणाली र वैज्ञानिक क्षति मूल्यांकनबिना रोक्न नसकिने बताए । उनले नेपालले जलवायु वित्त प्राप्त गर्न वैज्ञानिक प्रमाण मुख्य हतियारको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । त्यसैगरी पूर्व ऊर्जा सचिव दिनेश कुमार घिमिरेले स्वच्छ ऊर्जामा नेपालले दक्षिण एशियामा नेतृत्व लिन सक्ने दाबी गरे। उनले हरित हाइड्रोजन, ग्रिड आधुनिकीकरण र ऊर्जा व्यापारलाई नीति तहमै प्राथमिकता दिनुपर्ने बताए।

छलफलमा सहभागीहरूले विज्ञान कूटनीति, क्षेत्रीय ऊर्जा व्यापार, कनेक्टिभिटी सुधार, जलवायु क्षतिपूर्ति र दिगो पूर्वाधारलाई नेपालको दीर्घकालीन रणनीतिक एजेन्डामा समावेश गर्न सुझाव दिएका थिए।

विश्व विज्ञान दिवस की शुरुआत यूनेस्कोले स २००१ मा शुरु गरेको थियो र सन् २००२ मा पहिलो पटक यो दिवस मनाइएको थियो । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२४ देखि २०३३ सम्मलाई विश्व विज्ञान दशक घोषणा गरेको छ ।











प्रतिक्रिया