गण्डकीको आर्थिक वृद्धिदरमा सुधार


काठमाडौं ।

आर्थिक वर्ष २०८१|८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । यसअनुसार, प्रदेशले वृद्धिदरको आधारमा देशभरिकै पहिलो स्थान ओगट्ने देखिएको छ । यद्यपि, कुल ग्राहस्थ्य उत्पादनमा योगदानको आधारमा गण्डकी प्रदेश पाँचौँ स्थानमा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार, चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित उपभोक्ता मूल्यमा) ५ खर्ब ४८ अर्ब रुपियाँ हुने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्षमा यो वृद्धिदर ४.०९ प्रतिशत रहेको थियो। कुल गार्हस्थ्य उत्पादनमा गण्डकी प्रदेशको योगदान ८.९८ प्रतिशत रहने अनुमान गरिएको छ ।

प्रदेशको आर्थिक संरचनाअनुसार कृषि क्षेत्रले २७.८ प्रतिशत, उद्योग क्षेत्रले १६.५ प्रतिशत र सेवा क्षेत्रले ५५.८ प्रतिशत योगदान दिने अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१÷८२ मा सुदूरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम (३.३२ प्रतिशत) रहने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा १.११ प्रतिशतले घटेर ४ लाख ३१ हजार ३८५ हेक्टर रहेको छ । तरकारी, फलफूल, मसला, चिया र कफी खेतीमा वृद्धि देखिएको छ भने खाद्य, नगदे तथा अन्य बालीमा कमी आएको छ। प्रमुख कृषि बालीको उत्पादन ४.८६ प्रतिशतले घटेको छ ।

पशुजन्य उत्पादनमा दूध १.२५ प्रतिशत र माछा ०.७४ प्रतिशतले घटेको छ भने मासु र अण्डा उत्पादन क्रमशः १.३६ र ४.८५ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठ ३१.३५ प्रतिशत र दाउरा १३.६८ प्रतिशतले बढेको छ।
गण्डकी प्रदेशका उद्योगहरूले औसत ३९.१९ प्रतिशत उत्पादन क्षमता उपयोग गरेका छन्। चाउचाउ, क्याप्सुल औषधी, बियर, चुरोट, प्रशोधित दूध, ड्राई सिरप औषधी र तोरीको तेलको उत्पादनमा वृद्धि भएको छ भने इँटा, ओइन्टमेन्ट औषधी, ट्याब्लेट औषधी, चकलेट, लिक्विड औषधी, बिस्कुट र सिमेन्टको उत्पादनमा कमी आएको छ। औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा २७ अर्ब ९१ करोड रुपियाँ छ ।

गण्डकी प्रदेशमा विदेशी पर्यटक आगमन २६ प्रतिशतले वृद्धि भई ६९,४९१ पुगेको छ । होटलको शैया संख्या ३.८ प्रतिशतले वृद्धि भई ७५,४१९ पुगेको छ भने अकुपेन्सी ३१.८४ प्रतिशत रहेको छ । हवाई यातायातमा २५ कम्पनीमार्फत १४,१५८ उडान भएको छ र सिट उपयोग क्षमता ७९.१३ प्रतिशत रहेको छ ।

त्यस्तै कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–राम्दी–गैँडाकोट खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत, बेनी–जोमसोम खण्ड ८७ प्रतिशत, मध्यपहाडी लोकमार्ग गोरखा–लमजुङ खण्ड ७७ प्रतिशत र कास्की–पर्वत–बाग्लुङ खण्ड ८२ प्रतिशत रहेको छ । जलविद्युत् आयोजनामा तनहुँ आयोजना ६७ प्रतिशत र बुढीगण्डकी आयोजना १६.५५ प्रतिशत प्रगतिमा पुगेको छ । प्रदेशका ५९ स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ७८९ आयोजना सञ्चालन गरेका थिए, जसबाट कुल ४४५ व्यक्तिले औसत ४८ दिन रोजगारी पाएका थिए।