कोलम्बो, श्रीलङ्का ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रकी प्रमुख डा. क्याथरिना बोहेमले दक्षिण-पूर्वी एसिया क्षेत्रका सबै सदस्य राष्ट्रहरूलाई मधुमेह नियन्त्रण र रोकथामका प्रयासलाई तीव्र बनाउन आह्वान गरेको छ। विश्व मधुमेह दिवसको अवसरमा एक विज्ञप्ती जारी गर्दै डा. बोहेमले भने, “हाम्रो क्षेत्रमा लगभग २७ करोड ९० लाख वयस्कहरू मधुमेहबाट प्रभावित छन्, जुन विश्वको कुल मधुमेह भारको एक तिहाइ हो।
यी मध्ये धेरैजसो उपचारको पहुँचबाट टाढा रहेका छन्।” उनले थपे, “हाम्रो क्षेत्रमा केवल प्रत्येक तीन व्यक्तिहरूमध्ये एक जना मात्र उपचारको पहुँचमा छन्, र केवल १५ प्रतिशतभन्दा कम जनाले रक्तचाप नियन्त्रण राखेका छन्।” वर्ष २०२५ को विश्व मधुमेह दिवसको नारा “जीवनका प्रत्येक चरणमा मधुमेह” रहेको छ।
डा. बोहेमले यस अवसरमा बालबालिका, गर्भवती महिलाहरू, र वृद्ध व्यक्तिहरूका लागि समग्र र पहुँचयोग्य स्वास्थ्य प्रणालीको आवश्यकता औंल्याइन्। साथै, उनले सन्तुलित आहार, नियमित शारीरिक क्रियाकलाप र मदिरा तथा धूम्रपानबाट टाढा रहने बानीले टाइप–२ मधुमेहको जोखिम घटाउन सकिने उल्लेख गरिन्।
यस वर्षको डब्ल्यूएचओ रिपोर्ट अनुसार, दक्षिण–पूर्वी एसिया क्षेत्रका अधिकांश सदस्य राष्ट्रहरूले प्रमाणमा आधारित औषधि प्रोटोकल लागू गरेका छन् र ३ करोड ३० लाखभन्दा बढी मधुमेहका बिरामीहरूलाई नियमित उपचारमा समेटिएको छ। अन्त्यमा डा. बोहेमले भनिन्, “सरकार, स्वास्थ्य व्यवसायी, र समुदायले सबै मिलेर जीवनका प्रत्येक चरणमा मधुमेहको बोझ घटाउने प्रयासलाई सबल बनाउनुपर्छ।”











प्रतिक्रिया