राष्ट्रिय परिचयपत्र भएकाको मतदाता नामावली दर्ता अब अनलाइनबाटै

घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य


नयाँ व्यवस्थाअनुसार राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका व्यक्तिले निर्वाचन आयोगको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सक्नेछन् ।

काठमाडौं ।

राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले अब मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औंठा छाप र तस्वीर) विवरण दिनु नपर्ने भएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको भण्डारमा रहेको बायोमेट्रिक विवरणलाई सोझै मतदाता नामावलीको अनलाइन आवेदनसँग जोड्ने निर्णय गरेपछि मतदाता नामावलीमा नाम दर्ता थप सहज बनेको हो । यो व्यवस्थाले नागरिकले बेहोर्दै आएको झन्झट अन्त्य हुने र दर्ता प्रक्रिया छिटो र प्रभावकारी हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘राष्ट्रिय परिचयपत्रको भण्डारमा जम्मा भएको बायोमेट्रिक विवरणलाई तपाईंहरूले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने निर्णय हामीले गरेका छौं ।’

नयाँ व्यवस्थाअनुसार राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका व्यक्तिले निर्वाचन आयोगको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सक्नेछन् । आयोगले सो आवेदनलाई राष्ट्रिय परिचयपत्रको प्रणालीमा रहेको बायोमेट्रिक विवरणसँग आबद्ध गरी प्रमाणीकरण गर्नेछ । यसले गर्दा नागरिकले नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय वा इलाका प्रशासन कार्यालयमा भौतिक रूपमा उपस्थित भएर घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

यसअघि नाम, ठेगाना, जन्ममिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण भरेर बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउन नपर्ने बध्यता थियो ।आयोगको सो निर्णयले अध्ययन, रोजगारी वा अन्य कामले विदेशमा रहेका नेपालीहरूलाई पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सहज हुने भएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले विदेश जाने अधिकांश नेपालीले राष्ट्रिय परिचयपत्र बनाइसकेको उल्लेख गर्दै उनीहरूले पनि अनलाइनमार्फत आवेदन दिन सक्ने बताउनुभयो । विदेशमा रहेका नेपालीहरूको राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकलाई हामीले (नेपालमा) जोड्ने व्यवस्था मिलाएका पनि भण्डारीको भनाइ रहेको छ ।

जेन–जी समर्थकहरू राष्ट्रिय परिचय पत्र विभाग र निर्वाचन आयोगका प्राविधिकसँग ३÷४ पटकको छलफल र परीक्षणपछि नयाँ व्यवस्था सम्भव भएको हो । हाल मतदाता नामावली दर्ताका लागि देखिएको अत्यधिक चापलाई व्यवस्थापन गर्न आयोगले दर्ता केन्द्रहरूमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा काम गरिरहेको छ । अनलाइन प्रणाली र राष्ट्रिय परिचयपत्रसँगको आबद्धताले आगामी दिनमा यो चाप स्वतः घट्ने आयोगको विश्वास छ । नाम दर्ताको समय कात्तिक मसान्तसम्म रहेको छ ।