सुरक्षा कमाण्डर पाण्डेले त्यागे प्रचण्ड


हेटौंडा ।

‘केही वर्षदेखि पार्टीभित्र बढ्दै गएको आत्मकेन्द्रित व्यक्तिवाद, तपाईंलाई देखाएर आफ्ना कमिटी र जवस मोर्चाहरुका नेताहरुले सहयोद्धाहरुलाई गरेको छिछि र दुर्दुर, फरक विचारलाई कत्लेआम, अपमान । यति असहिष्णु बढेको छ, त्यो व्यक्तिहत्यासम्म नपुग्ला भन्न सकिन्न,’ लामो समय पुष्पकमल दाहाल (प्रचण्ड) को दाहिने हातजस्तै उनको सुरक्षामा खटिएका एक युवाले यस्ता शब्दसहितको निकै भावुक पत्र लेख्दै अन्ततः उनकै साथ त्यागेका छन् ।

‘तथ्य र सत्य रिपोर्टिङ तपाईंकहाँ आउने बाटोहरु पूर्णरुपमा बन्द गराउँदै आएका छन् । आफू, आफ्ना वा आफ्ना नश्लसमेत जोडिएकालाई खातमाथि खात पार्दै निमुखा, इमान्दार कार्यकर्ता, जनतालाई धोका दिइरहेका छन् । तपाईंलाई खुसी पार्न गरिने जायज वा नाजायज पर्दापछाडिका खेलहरु यति गम्भीर छन् कि सायद त्यसले भोलिका दिनहरुमा भौतिक शरीरमाथि पनि सजिलै धावा बोल्ने फराकिलो बाटो तय गरेका छन्,’ झण्डै १० वर्ष प्रचण्डसँगै बिताएका हेटौंडा–११ का करिब ४६ वर्षीय पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमान्डर प्रकाशचन्द्र पाण्डे (प्रलोक) ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई यस्तो पत्र लेख्दै साथ त्यागेका हुन् ।

पाण्डेले संगठनमा वस्तुवादी विधि नअपनाइएको र नयाँ नेतृत्व निर्माणमा प्रचण्डले साहसिक निर्णय लिन नसकेको भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । केन्द्रीय संयोजकलाई लेखेको पत्रमा उनले उपत्यकाविशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पनि त्यागेको उल्लेख गर्दै लेखेका छन् –ममाथि लाग्ने आरोपहरुको राजनीतिक प्रतिवाद गर्न तयार छु । तर, पार्टीमा रहँदा इमान बेचिनँ, कुनै व्यक्तिगत फाइदा लिइनँ । प्रचण्डको सुरक्षाफिर्ता भएपछि पाण्डे नेतृत्वमा १० जना पूर्वजनमुक्ति सेनाको टोली उनको सुरक्षामा खटिएको थियो ।

उनले भनेका छन् –के प्रचण्ड ब्रिगिएकै हुन् त ? अन्तर हृदयदेखि मन उद्व्वेलित छ । पटकपटक गरी लामो समय तपाईंको सुरक्षाका लागि रहेको सिपाही, तपाईंका लागि मर्न तयार म आज निकै भावुक छु ।

पाण्डेले शान्तिप्रक्रियाको सुरुवाती समय कामीडाँडादेखि काठमाडौंका बौद्ध, ठमेल, भक्तपुरका होटलहरुमा बसेकोदेखि स्थायीरुपमा नयाँबजारमा बस्न सुरु गरेको दिनहरु मानसपटलमा फनफनी घुमिरहेका भन्दै कुटनीतिक नियोगका विशिष्ट व्यक्तिदेखि सेना समायोजनको अन्तिम छलफल चल्दै गर्दा समायोजनको विषयमा रुक्मांगद कटवालसँगका वार्तालाप अनि कटवाल र झलनाथले दिएको धोका हुन् वा भारतीय पक्षले यो वा त्यो नाममा पशुपतिका पुजारी काण्डमा दिएको तनावलाई कुटनीतिक प्रतिवाद र प्रतिरोधका निम्ति तयार प्रचण्डले नै नेपाली समाजको वर्गीय, क्षेत्रीय, जातीय, लंैगिक अधिकारका लागि जीवनलाई तिलाञ्जली दिन तयार प्रेरणाको स्रोत रहेको दाबी गरेका छन् ।

‘तपाईं पूर्वपश्चिम जनताको घरदैलोमा रहँदा तराई कुनै जिल्लामा धारामा सामान्य चिप्लिएको कुरा होस् वा तपाईंले प्रयोग गर्ने कपडा, खानेनुन होस् वा चामल, कफी होस् वा तरकारी त्यो निशानामा छ । छिनभरमै सूचना लाजिम्पाट वा चक्रपथ पुग्छ कसरी ? यो मलाई राम्रो अनुभूत छ । आफ्नै भन्नेहरु बैरी छन् । अविश्वास पनि कसलाई किन र कसरी गर्ने ? विस्तारै घेरा हाल्दै हाल्दै आज तपाईंलाई किरण, बाबुराम, विप्लव वा कठिन यात्रामा सँगै रहेका बादल, जनार्दनभन्दा पहिला माधव, झलनाथ, वामदेवहरु प्रिय बनाइदिएका छन्,’ पाण्डेको भावुक पत्रमा भनिएको छ–घेराबीच तपाईं हुनुहुन्छ । तपाईं घेरा तोडेर बाहिर निस्कन अब ढिलो हुने क्रम बढ्दै छ । फरक मत राख्नेको उछितो काढेका छन् । संगठन मा वस्तुवादी विधि तयार, पछिल्लो जेनजी आन्दोलन र नयाँ नेतृत्व निर्माणको प्रश्नमा तपाईंले बोड्ली लिन नसकेको डिसिजन पनि घेराबन्दी हो । उनले सेना समायोजनको क्रममा स्वेच्छिक अवकास रोजेका थिए ।

उनले जनार्दन शर्मा प्रभाकरले अगुवा गरेको प्रगतिशील राष्ट्रिय अभियान नेपाललाई सघाउने सोच बनाएको बताएका छन् । अभियानले ३१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको छ । अभियानले बिहीबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर केन्द्रीय संयोजन समिति गठन गरेको जानकारी दिएको हो ।