नेपाल–भारतबीच सांस्कृतिक संवाद र सहकार्य आवश्यक  : विज्ञहरू


काठमाडौं

 नेपाल र भारतका शिक्षाविद्, सांस्कृतिक विज्ञ, पर्यटन व्यवसायी तथा धार्मिक अगुवाहरूले नेपाल–भारतबीच पर्यटन प्रवर्द्धन, शान्ति र भाईचारा सुदृढ गर्नका लागि सांस्कृतिक संवाद र सहकार्य अझै बढाउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा बुधबार आयोजित ‘नेपाल–भारत सांस्कृतिक संवाद’ कार्यक्रममा वक्ताहरूले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन साझा सांस्कृतिक तथा धार्मिक आधार सनातन धर्मलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले नेपाल–भारतबीचका कुनै पनि समस्या आपसी सांस्कृतिक संवादबाट समाधान गर्न सकिने बताए।‘हामीलाई विभाजन गर्ने राजनीति र विचारधारा बिर्सौं, र हामीलाई एकतामा बाँध्ने सनातन धर्ममा जोड दिऔं’ –उनले भने। उनका अनुसार वेद, उपनिषद् र पुराणजस्ता प्राचीन ग्रन्थहरूले आपसी संवाद, सद्भाव र समझदारीलाई प्राथमिकता दिएका छन्।

शाहले थपे, ‘नेपाल र भारतले साझा संस्कृति, परम्परा र धर्मका माध्यमबाट एकतामा आए भने विश्वभाइचाराको सन्देश फैलाउन सक्छौं र विश्वशान्तिमा योगदान दिन सक्छौं’

 भारतको उत्तर प्रदेशका पूर्व शिक्षामन्त्री रवीन्द्र शुक्लको प्रमुख आतिथ्यमा आयोजित  कार्यक्रममा ग्लोबल पिस फाउन्डेशनका दक्षिण एशिया प्रमुख ई. राम रोहन पन्तले नेपाल–भारतबीचको आध्यात्मिक सम्बन्धले दुवै देशका नागरिकबीच आत्मीयता र शान्तिको सन्देश फैलाउने विश्वास व्यक्त गरे।

नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले दुई देशबीचको धार्मिक स्थलहरूलाई जोडेर संयुक्त रूपमा बौद्ध सर्किट, रामायण सर्किट र महाभारत सर्किटजस्ता परियोजनामार्फत आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने बताए। ‘विविध धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा भारतीय पर्यटक आकर्षित गर्ने अपार सम्भावना छ’, उनले भने, ‘भारत नेपालको सबैभन्दा ठूलो पर्यटक बजार हो, त्यसैले पर्यटन क्षेत्रमा सहकार्यले दुवै देशका जनतालाई फाइदा पुर्‍याउनेछ।’

हिन्दी साहित्य भारती, ग्लोबल पिस फाउन्डेशन र  त्रिवि केन्द्रीय हिन्दी विभागको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजनामा सम्पन्न भएको कार्यक्रममा नेपाल र भारतका १४० भन्दा बढी सहभागीको उपस्थिति रहेको आयोजकले जनाएको छ।