स्वदेशी औषधी उद्योगलाई अझ बलिया बनाऊ


नेपालमै उच्च गुणस्तरीय औषधी उत्पादन र वितरण गर्दै आएको म्याग्नस फर्मा प्रालिले हालसालै पारासिटामोल इन्फ्युजनसहित इन्जेक्टेबल्स सेग्मेन्टमा औपचारिक प्रवेश गरेको छ । औषधी उद्योगमा यो कदम केवल एक कम्पनीको व्यापारिक विस्तार होइन, देशको औषधी आत्मनिर्भरताको यात्रामा एउटा ऐतिहासिक सुरुवात हो । नेपालमा औषधी उद्योगले हालसम्म मुख्यतया ट्याब्लेट, क्याप्सुल र सिरप उत्पादनमा उल्लेखनीय प्रगति गरेको छ ।

तर इन्जेक्सनका क्षेत्रमा भने देश विदेशी कम्पनी, विशेषगरी भारत र बहुराष्ट्रिय ब्रान्डमा निर्भर रहँदै आएको थियो । यस्तो सन्दर्भमा म्याग्नस फर्माको इन्जेक्टेबल्स उत्पादन सुरुवातले स्वदेशी उद्योगको दायरालाई फराकिलो बनाएको छ । कम्पनीले अत्याधुनिक प्रविधि र अटोमेशन प्रणालीमा आधारित उत्पादन प्लान्ट स्थापनामा ठूलो लगानी गरेको जनाएको छ । यसले मानव हस्तक्षेप घटाएर गुणस्तर नियन्त्रणमा विश्वसनीयता बढाउनेछ ।

हाल कम्पनीले पारासिटामोल इन्फ्युजन, प्यान्टोप्राजोल, लेभेटिरासेटाम, फ्युरोसेमाइड र हायोसिन इन्जेक्सन उत्पादन सुरु गरेको छ । यी सबै औषधीहरू अस्पताल र आपतकालीन उपचारमा दैनिक रूपमा आवश्यक पर्ने आधारभूत इन्जेक्टेबल्स हुन् । यस्तो औषधीको उत्पादन देशमै हुनुले आयातमा निर्भरता घटाउने र मूल्य स्थिरता कायम राख्ने अपेक्षा गर्न सकिन्छ । नेपालमा इन्जेक्टेबल्स औषधीको बजार हालसम्म करिब ८० प्रतिशतभन्दा बढी विदेशी कम्पनीले ओगटेको अनुमान छ । घरेलु कम्पनीको उत्पादन सीमित हुँदा औषधी मूल्य, आपूर्ति र गुणस्तरको नियन्त्रण विदेशी बजारको हातमा रहँदै आएको थियो । अब म्याग्नस फर्माको पहलले यो स्थिति क्रमशः परिवर्तन गर्ने सम्भावना बढेको छ ।

यद्यपि, उत्पादन मात्र सुरु हुनु पर्याप्त होइन । सरकारको नियमन र नीतिगत समर्थन पनि यति नै महत्वपूर्ण हुन्छ । औषधी नियामक निकायले स्वदेशी कम्पनीहरूका लागि अनुसन्धान, प्रविधि हस्तान्तरण र गुणस्तर परीक्षणको सहज वातावरण सुनिश्चित गर्न जरुरी छ । त्यस्तै, सरकारी अस्पतालहरूमा स्वदेशी औषधीको प्रयोगलाई प्राथमिकता दिने नीति लागू गरिनुपर्छ । नेपालले सन् २०३० सम्म “औषधीमा आत्मनिर्भरता” हासिल गर्ने लक्ष्य लिएको छ ।

म्याग्नस फर्माजस्ता कम्पनीको प्रयास त्यस लक्ष्यमा पुग्ने सिढी हुन् । तर यसका लागि कर छुट, प्रविधि विकास, दक्ष जनशक्ति तालिम र निर्यात प्रोत्साहनका नीतिहरू स्पष्ट हुनुपर्छ ।यो मात्र एक कम्पनीको व्यावसायिक उपलब्धि नभई, देशकै औद्योगिक क्षमताको सशक्त परिचय हो । यदि यस्ता उद्योगहरूलाई नीति र लगानीका हिसाबले दीर्घकालीन साथ दिइयो भने नेपाल केवल उपभोक्ता नभई औषधी निर्यातक देशको रूपमा पनि स्थापित हुन सक्नेछ । कम्पनीले अत्याधुनिक प्रविधि र अटोमेशन प्रणालीमा आधारित प्लान्ट स्थापना गरेको छ, जसले उत्पादनमा विश्वस्तरको मापदण्ड कायम गर्नेछ । यस्तो प्रविधि प्रयोग र लगानीले नेपाली उद्योगलाई नयाँ प्रविधिक युगमा प्रवेश गराएको छ ।

यसको सशक्त उदाहरणका रूपमा तिलगंगा आँखा प्रतिष्ठान उल्लेखनीय छ । लेन्स उत्पादनदेखि निर्यातसम्मका काममार्फत तिलगंगाले आफ्नो अस्पताल मात्र आत्मनिर्भर बनाएको छैन, नेपाललाई आँखा उपचारमा विश्वस्तरमा अब्बल प्रमाणित पनि गरेको छ । यस्तो सफलता जब स्वदेशी संस्थाहरूले गुणस्तर र प्रतिबद्धता जोड्छन्, तब आत्मनिर्भरता सम्भव मात्र होइन, गर्वको विषय पनि बन्छ । तर यस्ता उद्योग र प्रतिष्ठानको योगदानले एउटा गम्भीर प्रश्न पनि उठाउँछ किन स्वास्थ्य सेवा र औषधी उत्पादनमा सरकारी क्षेत्र कमजोर देखिन्छ, र किन गैरसरकारी तथा निजी क्षेत्रले नै यो बोझ व्यहोर्नुपरेको छ ?

सरकारले यी यथार्थतामा ध्यान दिनुपर्छ । जनस्वास्थ्य राज्यको प्राथमिक दायित्व हो । त्यसैले नीति निर्माणमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु, अनुसन्धान र विकासमा लगानी बढाउनु र उद्योगलाई दीर्घकालीन कर–राहत तथा प्रविधिक सहयोग उपलब्ध गराउनु अनिवार्य छ । नेपालमा दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको आधारभूत स्तम्भ स्वदेशी उद्योग नै हो । म्याग्नस फर्माको इन्जेक्टेबल्स प्लान्ट र तिलगंगा आँखा प्रतिष्ठानका उपलब्धिले देशभित्रै क्षमता, सीप र सम्भावना पर्याप्त रहेको प्रमाणित गरेका छन् । अब सरकारको जिम्मेवारी यी सफलतालाई नीतिगत रूपमा संरक्षण र विस्तार गर्ने तर्फ केन्द्रित होओेस् ।