काठमाडौं ।
भ्रष्टाचारविरुद्ध र सुशासनका लागि निरन्तर दबाब दिँदै आएको जेन–जी एलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान प्रतीक्षा कक्षको क्षेत्रमा राखिएका पसलहरूबाटै तस्करी भइरहेको भन्दै छानबिनको माग गरेको छ । एलाइन्सले ती पसलहरूले अत्यधिक महंगो मूल्यमा सामानहरू बिक्री वितरण गरिरहेको र त्यहाँबाट हुने गरेको तस्करीले देशलाई बद्नाम गरिरहेको भन्दै छानबिनको मागका लागि प्रधामन्त्री सुशाील कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, अर्थ मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा उजुरी दिएको छ ।
एलाइन्सले अन्तर्राष्ट्रिय विमानस्थल सबै किसिमले सुरक्षित हुन अनिवार्य रहेकोमा पछिल्लो समयमा विमानस्थल नै तस्करीको केन्द्र बनिरहेको र त्यहाँ राखिएका केही अवैध पसलहरूमार्फत अवैध मुद्रा तस्करी, सुन तस्करीमा जोडिएका संदिग्ध व्यापारी सुवास श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित कफीसप र पसलहरूको कारण देशकै सुरक्षामा गम्भीर असर परिरहेको आरोप लगाएको छ । यस प्रकारको अनियमित कार्यमा नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी, तथा नागरिक उड्ययन मन्त्रालयमा उच्च अधिकारीहरू, न्याय क्षेत्रका पूर्व उच्च पदस्थहरूको समेत संलग्नता रहेको भन्दै जेन–जी एलाइन्सले उनीहरूमाथि तत्काल छानबिनको माग गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्टेराइज्ड क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्ष तर्फका सटरहरू तत्कालीन अवस्थामा सार्वजनिक पदमा रहेका न्याय क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूले आफूमा रहेको शक्ति र अधिकार व्यक्तिगत हित र फाइदा पु¥याउनका लागि प्रयोग गरेर राष्ट्रलाई गम्भीर हानि नोक्सानी पु¥याएर भ्रष्टाचार गरिएको दाबी उजुरीमा गरिएको छ । यसै गरी उजुरीमा उल्लेख भएअनुसार क्यानका महानिर्देशक अधिकारी र विमानस्थलका महाप्रबन्धकहरूले विनाप्रतिस्पर्धा लामो समय एउटै व्यक्तिलाई पसल सञ्चालनको ठेक्का दिएर राज्यलाई ठूलो नोक्सान पु¥याइएको पनि उल्लेख छ ।
जेन–जी एलाइन्सका अनुसार २०६९ साल चैत्र २६ गते विवादास्पद व्यापारी सुवास श्रेष्ठले गोपालबाबु श्रेष्ठको नाममा पुरानो स्टेराइल कक्षको लबीमा कफीसप सञ्चालन गर्नका लागि विमानस्थलसँग सम्झौता गर्नुभएको थियो । २०६९ साल यता निज सुवासले विनाप्रतिस्पर्धा अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिकतर्फका सटरहरू उच्च व्यक्तिको पहुँचका आधारमा कब्जा जमाउँदै आएको र न्याय क्षेत्रका उच्च पदस्थसँग सेटिङ गरी निरन्तर कफीसफमार्फत तस्करी र अवैध धन्दा सञ्चालन गर्दै आइरहेको दाबी पनि जेन–जी एलाइन्सले गरेको छ ।
त्यतिखेर नै न्याय क्षेत्रका व्यक्ति र उनीहरूका निकटलाई ५० लाख रुपियाँभन्दा बढी रकम दिएर सेटिङ गरेको चर्चासमेत चलेको जेन–जी एलाइन्सको जिकिर छ । क्यानका महानिर्देशक अधिकारीले न्याय क्षेत्रका उच्च पदस्थका निकट व्यक्तिलाई विभिन्न समयमा गरी ५ अर्ब रुपियाँभन्दा बढिको ठेक्का दिलाएकाले यसमा पनि जेन–जी एलाइन्सले प्रभावकारी छानबिन र कारबाहीको माग गरेको हो ।
२५ चैत्र २०७६ मा विदेश जाने क्रममा अवैध रकमसहित पक्राउ परेका एक व्यक्तिसँग २२ हजार थाई भाट, १० हजार अमेरिकी डलर, ८० हजार चिनियाँ यूआन र १ हजार ३ सय ८० युरो बरामद भएपछि कफीसपहरू सिलबन्दी गरिएको थियो । तर पछि विभिन्न दबाब आएपछि सेटिङमा सिल गरिएका पसलहरू तुरुन्त खोलेर एलाइन्सको उजुरीमा उल्लेख गरिएको छ ।
सुवास श्रेष्ठकै नाममा रहेको ग्रिनतारा मिडिया ग्रुप मार्केटिङ प्रालिले ९ वर्षदेखि विमानस्थल परिसरभित्र रहेको गोल्डेन गेटदेखि अप्रेसन भवनसम्म २५ थान र इन्टरनेसनल टर्मिनल भवनदेखि डोमेस्टिक टर्मिनल भवनसम्म २५ थान विज्ञापनका होर्डिङ बोर्ड राख्न अनुमति पाएको थियो । २०६६ भदौ २२ र २०६८ भदौ ११ मा दुई पटक गरी १० वर्षका लागि गरिएको सम्झौतामा उक्त होर्डिङ बोर्डका साथै विमानस्थल भित्रका उपयुक्त क्षेत्रमा ब्युटिफिकेसन कार्य गर्ने उल्लेख छ । तर, सम्झौता अवधि बितिसक्दा समेत श्रेष्ठले पैसा र शक्तिको आडमा कुनै पनि ब्युटिफिकेसनको काम नगरी होर्डिङ बोर्डको मात्रै काम गरेको उजुरीमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया