–तत्कालीन सदस्य सचिव पौडेलले लेखेका थिए झुटो पत्र
–समितिले लेटरप्याडमै लेखिदियो ‘जो जससँग सम्बन्धित छ’ को पत्र
–सदस्य सचिवलगायत अध्यक्ष र केही सदस्यको मिलेमतोको आशंका
–सदस्य सचिव, अध्यक्षलगायतका पदाधिकारी सीआईबीको अनुसन्धानमा पर्ने
काठमाडौँ ।
सरकारबाट समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मेवारीमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका तत्कालीन सदस्य सचिव र केही पदाधिकारीकै मिलेमतोमा ६८ करोड रुपियाँ ठगीमा जेल परेका एक सहकारीका अध्यक्षलाई उम्काइएको छ ।
कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीलाई ६८ करोड रुपियाँ ठगीमा उम्काउने उद्देश्यले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिकै तत्कालीन सदस्य सचिव केशवप्रसाद पौडेललगायतको मिलेमतोमा सर्वोच्च अदालतलाई नै गुमराहमा पारी झुटो व्यहोरोका पत्र पठाइदिएपछि दर्शनधारी जेलबाट छुट्न सफल भएका छन् ।
यसरी समितिले दर्शन सहकारीका अध्यक्षको प्रभावमा परि नक्कली व्यहोराको पत्र तयार पारेर सर्वोच्चमा पठाएको विषय तालुक निकायको रूपमा रहेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगेपछि मन्त्रालयले आन्तरिक छानबिन थालेको थियो ।
मन्त्रालयले सो समितिका तत्कालीन सदस्य सचिव पौडेलले प्रक्रियाविपरीत झुटो विवरणसहित पत्र लेखेको पाइएको ठहर गर्दै थप छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाएको छ । ’भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्र सँग भने– ‘सदस्य सचिवले गलत किसिमले प्रक्रिया नै नपु¥याई सर्वोच्च अदालतलाई समेत गुमराहमा पार्ने उद्देश्यले पत्र लेखेको पाइयो, यसमा गम्भीर त्रुटि र अनियमितता भएको छ, को कसको संलग्नता छ भन्ने कुरा अब सीआईबीले नै पत्ता लगाउला ।
’ समितिको अध्यक्षमा पूर्व न्यायाधीश श्रीमण कुमार गौतम रहनुभएको छ । सदस्य सचिव पौडेलले अध्यक्ष गौतम, काशीचन्द्र बराल र अन्य केही सदस्यहरूसँगै सल्लाह गरी त्यस प्रकारको झुटो पत्र सर्वोच्चमा पठाएको स्रोतको दाबी छ । सदस्य सचिव पौडेलले असार ६ गतेको मितिमा सो पत्र लेखेका थिए । पछि तिहारको मौकामा सोही पत्रकै आधारमा धारी छुटेका थिए ।
दर्शन सहकारी संस्थाक अध्यक्ष दर्शनधारीले ६८ करोड ठगी गरेको पाइएपछि केही समयअघि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । काठमाडौं जिल्ला अदालतले दर्शनधारीलाई दोषी ठहर गरी जेल पठाएकोमा उच्च अदालत पाटनले समेत जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको थियो ।
दुईवटै अदालतबाट दोषी ठहर भएपछि जेलमा रहँदै आएका अध्यक्ष दर्शनधारी पक्ष त्यसविरुद्ध सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतमा गएपछि दर्शनधारी पक्षले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिवलगायत केही पदाधिकारीलाई प्रभावमा पारी आफ्नो पक्षमा फैसला आउने गरी झुट व्यहोराको पत्र लेखाउन सफल भएका हुन् । समितिले नक्कली पत्र लेखेर सर्वोच्च अदालतमा पठाइदिएपछि दर्शनधारी सर्वोच्चको आदेश पाएर जेलबाट छुट्नुभएको थियो ।
मन्त्रालयका अनुसार समितिका सदस्य सचिव पौडेलले प्रक्रिया विपरीत ‘जो जससँग सम्वन्धित छ’ भन्ने विषय राखेर ६८ करोड ठगीमा जेल परेका दर्शनधारीको पक्षमा पत्र लेखिदिनुभएको थियो । समितिका सदस्य सचिव पौडेलले हस्ताक्षर गरेर समितिकै लेटरप्याडमा दर्शनधारीले सहकारीको सबै पैसा चुक्ता गरिसकेको व्यहोराको पत्र सर्वोच्च अदालतमा पुगेपछि अदालतले यही पत्रको आधारमा दर्शनधारीलाई कैद मुक्त गरिदिएको थियो । जिल्ला र उच्च अदालतबाट दोषी व्यक्ति सर्वोच्चबाट एकाएक छुृटेपछि दर्शन सहकारीबाट पीडित व्यक्तिहरू अचम्ममा परेका थिए ।
पछि पीडितहरूले बुझ्दै जाँदा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिवलगायतका पदाधिकारीले मिलेमतो गरी झुट्टा व्यहोराको पत्र सर्वोच्च अदालतमा पठाएर दर्शनधारीलाई उन्मुक्ति दिलाएको थाहा पाएका थिए । त्यसपछि पीडितहरूले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगी समितिविरुद्ध उजुरी गर्दै छानबिनको माग गरेका थिए । पीडितको गुनासो र उजुरी आएपछि मन्त्रालयले आन्तरिक छानबिन गरी सबै फाइल सीआईबीमा पठाएको हो । सदस्य सचिव पौडेल भने एक महिना अघिमात्रै सेवानिवृत्त भइसक्नु भएको छ ।
मन्त्रालयका अर्का एक अधिकारीले यस प्रकरणमा सदस्य सचिवले मात्रै त्यति हिम्मत गर्न नसक्ने र अध्यक्षलगायतका पदाधिकारीहरूको पनि संलग्नता रहेको हुन सक्ने बताए । मन्त्रालयका ती अधिकारीका अनुसार यस प्रकरणमा समितिका तत्कालीन सदस्य सचिवलगायत अध्यक्ष र सबै पदाधिकारीहरू सीआईबीको छानबिन घेरामा पर्नेछन् । समितिका अन्य सदस्यहरूमा उद्धवप्रसाद तिमल्सेना, ललिताकुमारी महर्जन, धु्रव आचार्य र महेशप्रसाद काफ्ले रहेका छन् ।
दर्शन सहकारी संस्थाका अध्यक्षलगायतका पदाधिकारीमाथि विभिन्न शाखामार्फत २ अर्ब रुपियाँभन्दा बढी ठगी गरेको आरोप छ । यस सहकारीका पीडितहरू दर्शन सहकारी पीडित संघर्ष समिति खोलेर आन्दोलित हुँदै आएका छन् ।











प्रतिक्रिया