क्लबहरूले भने होम र ट्रेनिङ ग्राउन्ड चाहियो


 काठमाडौँ। 

सहिद स्मारक ए डिभिजन क्लबहरूले ए डिभिजन लिग गराउने विषयमा भएको बैठकमा खेलकुद मन्त्री बब्लु गुप्तासँग होम र ट्रेनिङ ग्राउन्ड उपलब्ध हुनुपर्ने माग राखेका छन् । ग्राउन्ड उपलब्ध भए मात्रै लिग खेल्ने पनि क्लबहरूले बताए । बुधबार बोलाएको बैठकमा क्लबहरूको कुरा सुनेपछि मन्त्री गुप्ताले सीमित साधन श्रोत भएकाले सम्झौता गरेर लिग गर्नु पर्ने बताए ।

हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सरकारले लिजमा होम र ट्रेनिङ ग्राउन्ड उपलब्ध गराउन माग गरे । यसमा सबैजसोको समर्थन पनि रह्यो । मन्त्रीले मन्त्रालयमा छलफल गरेर क्लबहरुलाई फेरिर बोलाउने जानकारी दिदैं छलफल अन्त्य गरेका थिए ।

एन्फा पूर्व अध्यक्षसमेत रहेका शेर्पाले लिगको मिति तोक्नु ठूलो कुरा नभएको जनाउँदै क्लब लाइसेन्सको पक्रिया पूरा गरेर मात्र लिग गर्नु औचित्यपूर्ण हुने बताएका थिए । उनले लाइसेन्स प्राप्त गर्ने प्रक्रिया मन्त्रीलाई जानकारी गरेका थिए । बैठकमा सहभागी अधिकांशले लिग नहुनुमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दोष दिएका थिए । 

अघिल्लो दिन एन्फाले मन्त्रीसँगको छलफलमा १ सय २० दिनभित्र ‘ए’ डिभिजन लिग सुरु गर्न सकिने बताएको थियो । त्यसपछि सोही विषयमा थप छलफल र सहमतिको प्रयासका लागि मन्त्री गुप्ताले ए डिभिजनका १४ क्लबका प्रतिनिधिलाई बोलाएका थिए ।