नेपाली सेनाद्वारा निकुञ्ज क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन


कञ्चनपुर/चितवन/बर्दिया 

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाका विभिन्न युनिटहरूले देशका विभिन्न स्थानमा संरक्षण शिक्षा र जनचेतना अभिवृद्धिका उद्देश्यले कार्यक्रम सञ्चालन गरेका छन्। सेनाले विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दा गरी २०० जना भन्दा बढीलाई सहभागी गराई वन्यजन्तु संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा नेपाली सेनाको भूमिकाबारे जानकारी दिएको छ।

कञ्चनपुरस्थित रणसिंहदल गणले मिति २०८२ कार्तिक २४ गते दोधारा चाँदनी नगरपालिका–३, श्री शंकर पार्वती माध्यमिक विद्यालयमा “मानव–वन्यजन्तु द्वन्द्वको कारण र न्यूनीकरणका उपाय” विषयमा जनचेतनामूलक कक्षा सञ्चालन गरेको नेपाली सेनाले जनाएको छ। कार्यक्रममा शिक्षक र विद्यार्थीलाई वन्यजन्तु संरक्षणको महत्त्वबारे जानकारी दिइएको थियो।

उक्त दिन नै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणले माडी नगरपालिका–९, श्री कृष्ण नगर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई सहभागी गराई “संरक्षणको महत्त्व, निकुञ्ज सुरक्षामा सेनाको भूमिका, जङ्गली जनावरको आनीबानी तथा सेनामा भर्ना छनोट प्रक्रिया” सम्बन्धी प्रशिक्षण कक्षा सञ्चालन गरेको थियो।

त्यसअघि, कार्तिक २२ गते बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ जबरजंग गणले बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा मधुवन नगरपालिका–१, त्रिभुवन माध्यमिक विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा स्थानीय बासिन्दालाई “प्रकृति संरक्षण र सामाजिक सुरक्षा कार्यमा समुदायको भूमिका, मानव–वन्यजन्तु द्वन्द्व तथा व्यवहार परिवर्तन” सम्बन्धी जानकारी दिइएको थियो। साथै, सेनामा भर्ना प्रक्रिया र शारीरिक अभ्याससमेत देखाइएको थियो।

हाल देशभरका १४ वटा संरक्षित क्षेत्रमा नेपाली सेनाका ८ गण, ७ अनाश्रित गुल्म र १ शिक्षालय गरी करिब ९ हजार फौज परिचालित छन्। संरक्षण कार्यमा खटिने क्रममा हालसम्म ११६ जना सेनाका सकलदर्जाले वीरगति प्राप्त गरेका छन्।

सेनाका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रमहरूले वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउने र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।