जेन–जी आन्दोलनको क्षतिमा साढे ३ अर्ब बीमा भुक्तानी


काठमाडौं ।

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिसम्बन्धी दाबीमध्ये निर्जीवन बीमा कम्पनीहरूले हालसम्म साढे ३ अर्बभन्दा बढीको दाबी भुक्तानी गरेका छन् ।

बीमा प्राधिकरणका अनुसार, आन्दोलनपछि निर्जीवन बीमा कम्पनीहरूमा दर्ता भएको कूल दाबी करिब २३ अर्ब ४६ करोड ९१ लाख रुपियाँमध्ये ३ अर्ब ६८ करोड ४१ लाख रुपियाँ बीमितलाई भुक्तानी गरिएको छ । उक्त दाबीमध्ये अग्रिम भुक्तानी (पेश्की) पनि समावेश छ ।

त्यस्तै सम्पत्ति बीमातर्फ ६९३ वटा दाबीमध्ये करिब १९ अर्ब ४ करोड ९ लाख रुपियाँको बीमाअन्तर्गत करिब २ अर्ब ९२ करोड ८६ लाख भुक्तानी भएको छ । मोटर बीमातर्फ २ हजार २९० दाबीमध्ये करिब ३ अर्ब ४७ करोड ७ लाख दाबी भएकोमा करिब ६८ करोड ६१ लाख भुक्तानी गरिएको छ ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फका २०९ दाबीमध्ये करिब ५४ करोड ७५ लाख दाबी रकममध्ये करिब ६ करोड २३ लाख भुक्तानी भएको छ । परिवहन बीमातर्फका १२ दाबीमध्ये करिब १ करोड ६८ लाख दाबी भएकोमा करिब ४७ लाख भुक्तानी भएको छ । अन्य बीमातर्फ ४२ दाबीमध्ये करिब ३९ करोड ३० लाख दाबी रकममध्ये करिब २३ लाख अग्रिमसहित भुक्तानी भएको छ ।

आन्दोलनबाट भएका क्षतिको दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ४८ करोड १० लाख रुपियाँ अग्रिम भुक्तानी (पेश्की) प्रदान गरेको छ । पुनर्बीमा कम्पनीमा पुगेका २ हजार ८५७ दाबीको कुल मूल्य करिब १५ अर्ब ८२ करोड ७० लाख रहेको अद्यावधिक तथ्यांकमा उल्लेख छ ।