बागमतीका उद्योगहरू न्यून क्षमता सञ्चालन


काठमाडौं ।

बागमती प्रदेशका उद्योगको औसत क्षमता उपयोग ३८.७ प्रतिशत रहेको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंैकले गरेको अध्ययनअनुसार अघिल्लो वर्ष क्षमता उपयोग ४४.३ प्रतिशत रहेको थियो ।

नमुना छनोटमा परेका उद्योगहरूमध्ये चाउचाउ उद्योगले सबैभन्दा बढी क्षमता उपयोग गरेको छ भने लत्ता कपडा मध्येको गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम रहेको छ । वियर, चुरोट, टान्सफर्मर तथा औषधिमध्येको ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, ड्राइसिरप र लिक्विडको उत्पादन बढेको छ भने प्रशोधित दुध, पशुदाना, चाउचाउ, हल्का पेय पदार्थ, पश्मिना, गार्मेन्ट, रङ , इँटा, बिजुलीको उत्पादन घटेको छ । अध्ययनमा समेटिएका उद्योगहरूले ६,०७८ स्वदेशी र १८८ विदेशी गरी कुल ६,२६६ जनालाई रोजगारी प्रदान गरेका छन् ।

बागमती प्रदेशमा सञ्चालित अधिकांश उद्योगहरू काठमाडांै उपत्यका, चितवन र मकवानपुरमा अवस्थित छन् । यस प्रदेशमा रहेका प्रमुख उद्योगहरूमा छालाका जुत्ता, कपडाका जुत्ता, गलैंचा, पश्मिना, फेल्टका सामान, जीवजन्तुको आहार, ऊनको तयारी पोसाक, सुतीको तयारी पोसाक, सजावटका सामान, चाउचाउ, बिस्कुट, पेय पदार्थ, इँटा, औषधी र सिमेन्ट उद्योगहरू पर्दछन् ।

आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्म कुल ५४३ उद्योगहरू दर्ता भएका छन् । स्थापना गरिएका यस्ता उद्योगहरूको सञ्चालनले बागमती प्रदेशको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ ।२०८१ साउनदेखि २०८२ असार मसान्तसम्म यस प्रदेशमा दर्ता भएका ५४३ वटा उद्योगहरूको प्रस्तावित कुल पुँजी ७१ अर्ब ९७ करोड रहेको छ । प्रस्तावित उद्योगहरूले कुल २४ हजार ९३ जनालाई रोजगारी दिन सक्ने देखिन्छ । २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस प्रदेशका उद्योगहरूमा प्रवाह गरेको कर्जा १३.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ११ अर्ब ५ करोड पुगेको छ । गत वर्ष यस्तो कर्जा ११.५ प्रतिशतले वृद्धि भई १० खर्ब ६३ अर्ब ९४ करोड पुगेको थियो ।

त्यस्तै यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३६.४ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ११ खर्ब १९ अर्ब ३० करोड (९२.४ प्रतिशत) कर्जा लगानी रहको छ । रसुवा जिल्लामा सबैभन्दा कम १३ करोड (०.०१ प्रतिशत) कर्जा लगानी रहको छ । अधिकांश औद्योगिक प्रतिष्ठानहरूको केन्द्रीय कार्यालय काठमाडौंमा रहकाले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको अनुमान छ ।

कुल औद्योगिक कर्जामा विद्युत्, ग्यास तथा पानी उद्योगको हिस्सा ३६.५ प्रतिशत, गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगको हिस्सा ३१.५ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगको हिस्सा १५ प्रतिशत, निर्माण उद्योगको हिस्सा १२.८ प्रतिशत, धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगको हिस्सा ३.५ प्रतिशत र खानी उत्पादनसम्बन्धी उद्योगको हिस्सा ०.७ प्रतिशत रहको छ ।