‘केवलपुरे जनमत सम्मान’ बाट मोमिला जोशी सम्मानित

एक साथ १४ जना कविद्वारा कविता वाचन


ललितपुर ।

साहित्य र साहित्यिक क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आउनुभएका साहित्य अनुरागी मोमिला जोशीलाई ‘केवलपुरे जनमत सम्मान–२०८०’ प्रदान गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा मंगलवार ललितपुरमा आयोजित विशेष साहित्यिक समारोहमा उक्त सम्मान प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष एवम् जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रसिद्ध साहित्यकार उषा शेरचन, प्रतिष्ठानका अध्यक्ष दुवाल, प्रतिष्ठानका सदस्य तथा वाटिकाका संयोजक राजु सरकार, भारती श्रेष्ठ, प्रतिष्ठानका सदस्य तथा वाह जिन्दगीका सम्पादक सृजना दुवाल र प्रतिष्ठानका सदस्य प्रेम श्रेष्ठले स्रष्टालाई संयुक्त रूपमा सम्मानपत्र, दोसल्ला, पदक तथा नगद पुरस्कारसहित सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा कविता वाचन गरेर सुनाउनु भएकी जोशीले सम्मान ग्रहणपछि मन्तव्यका क्रममा साहित्य र साहित्यिक पत्रकारिताको यात्रामा आफ्नो कर्मको सामाजिक अनुमोदन पाउनु गौरवको कुरा भएको बताउनुभयो ।उक्त कार्यक्रममा काभ्रे, काठमाडौं, ललितपुर, सुनसरी, लमजुङका १४ जना कवि तथा कवयित्रीहरूले कविता वाचन गरेका थिए । कविता वाचन गर्नेमा काभ्रे क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमला कायस्थ, काभ्रेकै तारा केसी, लमजुङकी पूर्ण देवी न्यौपाने, काभ्रेकी राधा देवी राजवंशी, काभ्रेकै सारदा घिमिरे भैल, सुनसरीकी सविता श्रेष्ठ वेहोसी, ललितपुरकी डा.सविना श्रेष्ठ, डा.सावित्री श्रेष्ठ, सृजना दुवाल, मोती शोभा श्रेष्ठ हुनुहुन्थ्यो ।

त्यसैगरी विशेष कविता वाचनमा उषा शेरचन, मोमिला जोशी र मोहन दुवाल हुनुहुन्थ्यो ।देशमा सृजना भएको कोभिड १९ लगायतका विषम परिस्थितिका कारण केही समयदेखि वाटिकाको गतिविधि कम भएकाले अब निरन्तरता दिने गरी महिनामा १० जना कविहरूको कविता वाचन गर्ने गरी कार्यक्रमलाई निरन्तरता दिन सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष दुवालले बताउनुभयो ।

उहाँले जनमत वाङ्मय प्रतिष्ठानले विगतदेखि नै साहित्यिक पत्रकारिताको विकास र स्रष्टाहरूको सम्मानमा निरन्तर योगदान पु¥याउँदै आएको जिकिर गर्दै भन्नुभयो– ‘साहित्य केवल सिर्जना होइन, सामाजिक चेतनाको आधार हो । जनमतले यस्ता सम्मानमार्फत सिर्जनशीलता र पत्रकारिताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ ।’
जनमत साहित्यिक वाटिक नेपाल, बनेपा–काभ्रेको तर्फबाट आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका लेखक, पत्रकार, कवि र सांस्कृतिक अभियन्ताहरूको सहभागिता थियो ।