काठमाडौँ।
स्वास्थ्य सेवा विभागले गत वर्ष संघीय, प्रादेशिकदेखि जिल्ला तहका अस्पतालहरूमा पठाएका अत्याधुनिक हेपाटोलोजी मेसिनहरू थुप्रै स्थानमा प्रयोगविहीन अवस्थामा थन्किएका छन् । यी मेसिनले रगतमा हुने विभिन्न संक्रमण, कलेजो तथा मधुमेहजन्य समस्या लगायत करिब ३० प्रकारका रोगहरूको प्रारम्भिक पहिचान गर्न सहयोग पु¥याउँछन् ।
विभागले ती मेसिनसँगै ‘रिएजेन्ट’ अर्थात् रगत परीक्षणका लागि आवश्यक रासायनिक पदार्थ पनि निश्चित अवधिसम्म पुग्ने गरी निःशुल्क उपलब्ध गराएको हुन्छ । रिएजेन्ट भनेको रगत, पिसाब वा अन्य नमूनामा हुने परिवर्तन पत्ता लगाउने रासायनिक पदार्थ हो, जसले रोगको अवस्थाबारे जानकारी दिन्छ ।
विभागका अनुसार अस्पतालहरूको मागका आधारमा हरेक वर्ष यस्ता मेसिन र रिएजेन्ट खरिद गरेर पठाउने परम्परा रहँदै आएको छ । यसले अस्पतालहरूलाई बजेट व्यवस्थापनमा राहत मिल्ने र सर्वसाधारणले निःशुल्क वा न्यून शुल्कमा रगत परीक्षण गर्न पाउने सुविधा प्रदान गर्दै आएको थियो ।
तर पछिल्लो समय केन्द्रीयदेखि क्षेत्रीय अस्पतालसम्मका कतिपय संस्थाहरूले विभागबाट प्राप्त मेसिन नचलाउने र आफ्नै नाममा नयाँ मेसिन खरिद गर्ने गरेका छन् । यसरी आफ्नै मेसिन खरिद गरेपछि, तिनले ‘आफू अनुकूल’ कम्पनीको रिएजेन्ट खरिद गर्ने अवसर पनि पाउँछन् । यसले अस्पतालहरूमा सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र स्रोतको सदुपयोगमा प्रश्न उठाएको विभागका एक अधिकारीले बताएका छन् ।
“वीर अस्पतालदेखि सिभिल, भरतपुरदेखि टिकापुरसम्म विभागले पठाएका मेसिन जडान त भएका छन्, तर धेरैजसो ठाउँमा प्रयोग भइरहेका छैनन्,” ती अधिकारीले भने, “अस्पतालहरूले आफैंले अर्को मेसिन खरिद गरेका छन् । आफैंले मेसिन किन्दा सोही कम्पनीको रिएजेन्ट प्रयोग गर्न पाउने हुँदा, शायद त्यसैको लागि यस्तो गरिएको हो कि भन्ने शंका छ ।”
तर, वीर अस्पतालका निर्देशक डा. दिलीप शर्मा भने यस प्रकारका आरोपप्रति पूर्ण असहमति जनाउँछन् । “विभागले उपलब्ध गराएका मेसिनहरूले हामीलाई ठूलो राहत दिएको छ,” उनले स्पष्ट पारे, “हामीले प्राप्त गरेका सबै मेसिन हाल सञ्चालनमा छन् र प्रयोग भइरहेका छन् ।”
अर्का एक सरकारी अस्पतालका निर्देशकका अनुसार कतिपय अवस्थामा विभागबाट आएको मेसिनले सम्पूर्ण परीक्षण कभर गर्न नसक्ने भएकाले वैकल्पिक मेसिन राख्ने प्रावधान पनि अपनाइने गरेको शंका छ । “एकै प्रकारका सबै परीक्षणका लागि एउटै मेसिनले पर्याप्त नहुने भएकाले कहिलेकाहीँ अर्को मेसिन राखिन्छ, जुन आलोपालो प्रयोग गरिन्छ ।”
स्वास्थ्य प्राविधिकहरूका अनुसार हेपाटोलोजी मेसिनले रगतमा रहेका सेतो र रातो कणको गणना र गुणस्तर परीक्षण गर्छ । यसबाट रक्तअल्पता, संक्रमण, कलेजो तथा मिर्गौला सम्बन्धी समस्या, र क्यान्सरको प्रारम्भिक अवस्था समेत पत्ता लगाउन सकिन्छ ।
स्वास्थ्य सेवा विभागले आगामी वर्षदेखि मेसिन र रिएजेन्ट वितरण प्रणालीलाई डिजिटल अनुगमन प्रणालीमार्फत पारदर्शी बनाउने तयारी गरेको जनाएको छ । विभागका एक उच्च अधिकारीका अनुसार, “राज्यको लगानीमा खरिद गरिएका उपकरणको उपयोग दर नाप्ने प्रणाली लागू गर्ने तयारी भइरहेको छ, ताकि सार्वजनिक स्रोतको दुरुपयोग रोक्न सकियोस् ।”











प्रतिक्रिया