–लगानी शंकास्पद
–नयाँ भवनको नक्सा रोक्न क्षतिपूर्ति माग्दै निवेदन
काठमाडौं।
इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) का सञ्चालक योगेश उप्रेतीको प्रभावमा परी बानेश्वरस्थित पीयूषबहादुर अमात्यको घरमा डोजर आतंक सिर्जना गरेपछि उप्रेती र कलेजविरुद्ध काठमाडौं महानगरमा दुईवटा उजुरी परेको छ ।
उजुरीविरुद्ध कामपाले छानबिन सुरु गरेको छ । कामपा नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले गुन्डागर्दी शैलीमा तिहारको दिन अमात्य निवासको कम्पाउन्डमा डोजर लगाउने उप्रेतीलाई जरिवाना गराउने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
कम्पाउन्ड भत्काएपछि अमात्यका छोरा आयुष अमात्यले कामपामा उजुरी दिनुभएको थियो । स्रोतका अनुसार सोही उजुरीमाथि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले तोक लगाएर तत्काल कुनै पनि संरचना नभत्काउन निर्देशन दिनुभएको थियो । लगत्तै प्रहरीबल प्रमुख पाण्डेले आफू मातहतका पूर्वक्षेत्रका प्रहरीलाई भवनको सुरक्षा गर्नसमेत आग्रह गर्नुभएको थियो ।
वडा कार्यालयको निर्देशनमा कलेज सञ्चालक उप्रेतीले आर्थिक प्रलोभवनमा भवन भत्काएको आरोप लागेको छ । कामपा–१० का वडा सदस्य सतिस तन्डुकारको नेतृत्वको छानबिन टोलीले छलफल जारी राखेकै बेला उप्रेतीले गुण्डागर्दी शैलीमा भवनको कम्पाउन्ड भत्काएका थिए । अमात्यले ४२ वर्षअगाडि २०४० सालमा घर बनाएका थिए । भिरालो जग्गामा रहेको घर भत्किन नदिने उद्देश्यले छेउको दुई आना दुई पैसा साढे तीन दाम जग्गा खरिद गरी पर्खाल लगाएका थिए ।
लालपुर्जा बनिसकेपछि जग्गाधनीले उक्त जग्गा बिक्री गरिदिएका थिए । ४२ वर्षपछि अहिले आएर आईएसएमटी कलेजले उक्त जग्गाको स्वामित्व आफूसँग रहेको दाबी गरिरहेको छ । स्रोतका अनुसार उप्रेतीले सञ्चालन गरेको सो कलेजको भवनको समेत नक्सा पास भएको छैन । त्यसविरुद्धमा पनि उजुरी परेको छ । कामपा शहरी व्यवस्थापन विभागले उजुरी छानबिन गरिरहेको छ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले विभागलाई सो घरको नक्सा भए नभएको विषयमा छानबिन गर्न निर्देशन दिनुभएको थियो ।
उजुरीमा पैसाको आडमा धाकधम्की दिने उप्रेतीको कलेजको विषयमा पनि छानबिन गर्ने तयारी सरकारले गरेको छ । २०८० असोज ७ मा विवादिन जग्गा खरिद गरेको सो कलेजले विवाद गरी गैर कानुनी तवरबाट बल प्रयोग गरी पर्खाल भत्काई निवेदकसमेत बसोबास गरी आएको घरलाई समेत क्षति पु¥याएको उल्लेख छ ।
अमात्यले घरायसी लिखतका आधारमा खरिद गरेको उक्त जग्गाको सम्बन्धमा जिल्ला अदालत काठमाडौंमा भोगाधिकार कायम गरीपाउँ भन्ने मुद्दा विचाराधीन रहेको र कित्ता नं ६३ को जग्गासमेत खरिद आईएसएमटीले पर्खाल भत्काउन माग गर्दै कामपामा मुदा दायर गरेको थियो । सो मुद्दामा कम्पाउन्ड भत्काउन फैसला भएको थियो । सो फैसलाविरुद्ध अमात्य परिवारले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दा विचाराधीन रहेको अवस्थामा आएएसएमटी कलेजले नक्सा पेस गरेको थियो । अमात्य परिवारले ०७२ असोज १ गतेमा खरिद गरेको जग्गामा आइएसएमटीले पेस गरेको नक्सा पास भएमा अमात्य परिवारले पुनः मुद्दा मामिला गर्नु पर्ने अवस्था हुन जाने हुँदा आईएसएमटीले पेस गरेको गर्न लागेको नक्सा रोक्का गर्न निवेदन दिएको छ । कलेजले अमात्यको जग्गाको कम्पाउन्ड आफ्नो दाबी गर्दा कामपामा घरकै नक्सा पास रोक्का गर्न निवेदन परेको छ ।
त्यस्तै, कातिक २ गते तोडफोड भएको घर र कम्पाउडको क्षतिपूर्ति माग गर्दै कामपामा अर्को निवेदन परेको छ । उच्चस्रोतका अनुसार भरतपुर नगरपालिकाकी मेयर रेनु दाहाललाई दिदीको नाता राखेर उहाँकै आडमा दादागिरी गर्ने उप्रेतीमाथि नै छानबिन गर्न दबाब परेको छ ।
चितवन घर भएका उप्रेतीले आईएसएमटीको नाममा सञ्चालन गरेको कलेजमध्ये काठमाडौंको मात्र कानुन सम्मत छ । अन्य स्थानको कलेज शाखा सञ्चालन गरेझै एउटै सम्बन्धनबाट गैरकानुनी रूपमा सञ्चालन गरिरहेको आरोप छ ।
स्रोतका अनुसार कलेजले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र नदिएर अनावश्यक दुःख दिने गरेको आरोप छ । काठमाडौं, पोखरा, चितवन, विराटनगर र बुटवलमा गरी पाँचवटा शाखा खोलेझैं कलेज सञ्चालन गरेको छ । नयाँ शिक्षामन्त्री आउनासाथ आफ्नो पावर देखाउन पुग्ने उप्रेतीले मन्त्रालयका उच्च अधिकारीलाई धम्क्याउने गरेका छन् ।
कलेजले शाखाजस्तै एउटै विदेशी विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गर्न पाउँदैन । तर, उप्रेतीले शक्तिको आडमा सहरकेन्द्रित कलेज सञ्चालन गरिरहेका छन् । आईएसएमटी कलेजको एक शाखाले एक वर्षसम्म पनि विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध नगराएको आरोप छ ।
अध्ययन सकिएको १० महिना बितिसक्दा पनि विद्यार्थीले प्रमाणपत्र माग्दा विभिन्न बहाना बनाएर उल्झनमा पार्ने तथा डरधम्की देखाउने गरेको विद्यार्थीको गुनासो छ । कलेजको बदनाम हुन थालेपछि आफ्नो भविष्य संकटमा पर्ने भन्दै विद्यार्थीको संख्या ह्वात्तै घटेको छ ।
आईएसएमटी कलेज र अमेरिकन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक एकै व्यक्ति हुन् । उप्रेतीले विमान कम्पनी सञ्चालन गर्न भन्दै सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् । सामान्य परिवारका उप्रेतीले छोटो समयमा कसरी करोडौं रुपियाँ लगानी गरेर देशका ठूला सहरमा कलेज सञ्चालन गर्न सफल भएका छन् भन्ने विषयमा खोजी जारी छ । आईएसएमटी कलेजको विदेशी सम्बन्धनका बारेमा पनि अनेक प्रश्न उठ्ने गरेका छन् ।
कलेजले कहिले हर्टफोर्डसायर विश्वविद्यालयबाट सम्बन्धन लिएको भन्दै विद्यार्थीलाई झुक्याउने गरेको छ । स्रोतका अनुसार स्नातकतहको कार्यक्रम उल्लेख गर्दै डिप्लोमा कार्यक्रम पढाएर विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने काम गरेको आरोप छ । अहिले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन लिएको यो कलेजले यसअघि युनिभर्भिटी अफ हर्टफोर्डसायरबाट सम्बन्धन लिएको भन्दै विद्यार्थीलाई भ्रममा राखेर अध्यापन सुरु गराउँदै आएको छ ।











प्रतिक्रिया