जेन–जी आन्दोलनपछि नयाँ दलको लहर: २४ दल दर्ताको पर्खाइमा

846
Shares

काठमाडौं।

जेन–जी आन्दोलनपछि नयाँ दल स्थापना गर्ने कार्यले तीव्रता पाएको छ । जेन–जी आन्दोलनले देशभरका युवाहरूमा पुराना दलप्रति असन्तोष र वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने चाहनाले नयाँ दल स्थापना गर्ने क्रम बढ्दै गएको हो । निर्वाचन आयोगमा हालसम्म २४ वटा नयाँ दल स्वीकृतिको पर्खाइमा रहेका छन् । शुक्रबारमात्रै पनि आयोगमा चारवटा दल दर्ताको निवेदन परेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

आयोगका अनुसार शुक्रबार दर्ताका लागि निवेदन दिएका दलहरूमा योगेन्द्र मण्डलको नेतृत्वमा ऊर्जाशील पार्टी, चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र निर्माण पार्टी र रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी नेपाल रहेका छन् । त्यसै गरी दर्ताका लागि निवेदन परेका दलहरूमा खगेन्द्र सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल पनि रहेका छन् । सो पार्टीको चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्तावित छ । यसअघि नवराज सुवेदीको नेतृत्वमा जनयुग पार्टी दर्ताको लागि निवेदन परेको थियो ।

नेकपा (माओवादी) केन्द्र र एकीकृत समाजवादी पार्र्टीबीच एकता गरेर खोलिएको नेपाली कम्युनिस्ट पार्टी नामक दलको निवेदन पनि आयोगमा रहेको छ । प्रवक्ता भट्टराईका अनुसार आयोगमा हालसम्म १ सय २५ दलले दर्ताको प्रमाणपत्र पाइसकेका छन् भने नयाँ २४ दलका निवेदन अध्ययनको क्रममा छन् । यीमध्ये आधाभन्दा बढी दलले जेन–जी आन्दोलनपछि मात्र निवेदन दर्ता गराएका हुन् । आयोगका अनुसार जेन–जी आन्दोलनअघि ९ वटा दलले दल दर्ताका लागि निवेदन परेकोमा सो आन्दोलन पछि १५ वटा दल दर्ताको निवेदन परेको छ ।

स्थापित दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको निप्कर्ष निकालेर आफ्नो विचार र दृष्टिकोणलाई राजनीतिक रूप दिन चाहेकाले धेरै युवाले नयाँ दल गठन गरेको राजनीतिशास्त्री प्राडा कृष्ण हाछेथुको भनाइ रहेको छ ।

आयोगका अनुसार आवेदन परेका दलहरुको कागजात हेरेर आयोगले प्रक्रिया पुग्नेहरूलाई मात्र आवेदन स्वीकृत गर्ने छ । राजनीतिक दल दर्ताको निवेदनका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दलको विधान, नियमावली र घोषणापत्र २÷२ प्रति, झण्डा, लोगो, छाप, रोजिएको चुनाव चिह्न, दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको केन्द्रीयस्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, दलको आय स्रोतको कोष र सो जुटाउने स्रोतको विवरण आदि खुलाउनुपर्ने प्रावधान रहेको छ ।

दल दर्ताका लागि निवेदन दिएकाले अबको ८ दिनभित्र प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ । आयोगले यही कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने गरी समय तय गरेको छ । त्यसपछि मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र त्यसपछि प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको छ ।