काठमाडौं ।
नेपाल स्काउट शुद्धीकरण अभियान समितिले स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै शनिबार नेपाल स्काउटको केन्द्रीय कार्यालय परिसरमा धर्ना दिएको छ। निर्देशक पदका लागि सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ताको समय पारेर समितिले धर्ना दिएको हो।
धर्नाको क्रममा प्रहरीसँग धकेलमुक्की समेत भएको थियो। समितिका संयोजक देवदूत अधिकारीले बहालवाल निर्देशक हुँदाहुँदै नयाँ निर्देशकका लागि दरखास्त आह्वान गरिएको भन्दै प्रक्रिया गलत भएको दाबी गरे। उनले प्रमुख आयुक्तसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा नयाँ नियुक्ति गैरकानुनी भएको बताए।
अधिकारीले स्काउटभित्रका विकृति, विसंगति र भ्रष्टाचारबारे तयार भएको छानबिन प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरे। यसैबीच, निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले आफूलाई कानुनी प्रक्रिया पूरा नगरी हटाइएको र त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको बताए। अदालतमा मुद्दा चलिरहेका बेला निर्देशक नियुक्ति उचित नहुने उनको भनाइ छ।











प्रतिक्रिया