काठमाडौं ।
नेपाल ट्रष्टको नाममा दर्ता रहेको काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित जग्गा लिज सम्झौतामा अनियमितता भएको आरोपमा पूर्व सहसचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल ट्रष्टको दरबारमार्गस्थित जग्गा थामशेर्कु ट्रेकिङ प्रालीसँग लिजमा दिने क्रममा कानूनी प्रक्रिया नअपनाई गैरकानूनी रूपमा संझौता गरिएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदै आएको थियो । सोही प्रकरणमा संलग्न रहेका तत्कालीन सहसचिव (हाल अवकाशप्राप्त) कार्कीलाई मिति २०८२ कात्तिक २१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धान अनुसार, नेपाल ट्रष्ट र थामशेर्कु ट्रेकिङ प्रालिबीच भएको लिज सम्झौतामा सूचनामा उल्लेख भएको कित्ता नं ४६०६ बाहेक थप कित्ता नं ४६०५ समेत अनधिकृत रूपमा लिजमा समावेश गरिएको थियो । संचालक समितिको औपचारिक निर्णय र कानूनी आधारबिना नेपाल ट्रष्टको जग्गा Bot (build operate -Transfer) Model अन्तर्गत निर्माण अवधिसहित ३० वर्षका लागि लिजमा दिइएको पाइएको छ ।
यसरी गरिएको सम्झौताबाट नेपाल ट्रष्टमार्फत नेपाल राष्ट्रलाई दीर्घकालीन हानी नोक्सानी पुगेको र सो कार्यमा संलग्न अधिकारी, कर्मचारी तथा अन्य व्यक्तिहरूले आपसी मिलोमतो गरी आर्थिक लाभ लिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
कार्कीले तत्कालीन समयमा नेपाल ट्रष्टको कार्यालयमा सहसचिवका रूपमा काम गरिरहेका थिए । उनी हाल जिल्ला चितवन, भरतपुर महानगरपालिका–१५ निवासी हुन् ।
प्रहरीका अनुसार, कार्कीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा अनुसन्धान जारी छ । सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान र कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया