“महाधिवेशन ढिलाइ नगर्न डा. शेखर कोइरालाको आग्रह”


काठमाडौँ ।

काठमाडौंमा उपलब्ध जिल्ला सभापति तथा पूर्व जिल्ला सभापतिहरूसँगको अनौपचारिक छलफलमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने धारणा राखेका छन्। उनले समयको चापका कारण सो मितिमा सम्भव नभए पनि कुनै हालतमा २०८२ पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए।

डा. कोइरालाले आगामी आम निर्वाचनअघि नयाँ र ताजा नेतृत्वका साथ चुनावमा जानुपर्नेमा जोड दिँदै निर्वाचन आयोगको तालिकासँग नबाझिने गरी कांग्रेसले आफ्नो तालिका बनाउनुपर्ने बताए। उनले पार्टी एकता, मेलमिलाप र जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्दै गुट, उपगुट र फुटको अन्त्य गर्न सबैले योगदान दिनुपर्नेमा जोड दिए।

उनका अनुसार देशभरका इमान्दार र निष्ठावान् कार्यकर्ताहरुले पार्टीलाई बचाइरहेका छन् र लाखौं शुभेच्छुकले अहिले कांग्रेसको निर्णय हेरेर पर्खिरहेका छन्। डा. कोइरालाले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्दै पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा पनि जोड दिएका छन्।

छलफलमा केन्द्रीय सदस्यहरू प्रा.डा.गोविन्दराज पोख्रेल र टेकप्रसाद गुरुङ पनि उपस्थित थिए । त्यस्तै मोरङ सभापति डिगबहादुर लिम्बू, रुपन्देही सभापति रामकृष्ण खाँण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई, चितवन सभापति राजेश्वर खनाल, सिन्धुलीको मोहन बरालसहित उपस्थित थिए ।

भेलामा गुल्मीका पूर्वसभापति त्रैलोक्यप्रसाद सेन, कास्कीका पूर्वसभापति यज्ञबहादुर थापासहितका नेताहरू पुगेका थिए ।

सभापतिहरूले आगामी निर्वाचनलाई ध्यानमा राखी सहमतिमा नियमित महाधिवेशन गर्ने वातावरण बनाउन सुझाव दिएका थिए। अधिकांश सभापतिहरूले पुसभित्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।