खोटाङ ।
मध्यपहाडी लोकमार्गमा निर्माणाधिन पक्की पुल म्याद गुज्रेको १० वर्ष बित्दा पनि अलपत्रै रहेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवाभन्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोलामा निर्माणाधिन पुल अलपत्र बनेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा पर्ने बुवासुङ–लामिडाँडाबीचमा निर्माणाधिन पुल ठेकेदार कम्पनीको लापारबाहीले अलपत्र परेको भन्दै स्थानीयले आक्रोस पोख्ने गरेका छन् ।
पुल नबन्दा सवारीसाधन जोखिम मोलेर खोलाबाटै तार्नुपर्ने बाध्यता रहेको छ । उक्त खोलामा पैदल यात्रुहरु काठको साँघुबाट जोखमका साथ वारपार गर्ने गरेको जनाईएको छ ।
१५ मिटरको पुल सिरुवा कन्ट्रक्सन काठमाण्डौले २०७३ असोज ६ गते सक्नेगरी २०७२ असोज ७ गते सम्झौता गरेको थियो । पुल निर्माणको लागि भ्याटसहित २ करोड २९ लाख ३८ हजार ७ सय ३७ रुपैयाँमा सम्झौता गरेर काम थालेको थियो ।
निर्माण कम्पनीले सुरुको सम्झौता म्याद सकेपछि २०७५ भदौ १७ गते पहिलो र २०७७ असोज ३० गते दोश्रो म्याद गुजारेकोे थियो ।
हाल पुलको वारीपारीको करीव एक–एक मिटर पिल्लर ठडाई पुल अलपत्र छाडिएको छ ।ठेकेदारले अलपत्र छाडेको उक्त पुलको ठेक्का तोडेर नयाँ ठेक्का लगाउने तयारी गरेको पुष्पलाल मध्यपहाडी आयोजना निर्देशनालय जनाएको छ । ठेक्का तोडेर श्रोत सहमति आएको र पुलको ठेक्का लाग्न बाँकी रहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय सित्खा रामेछापका इन्जिनियर रामहरी रिमालले जनाउनुभयो ।











प्रतिक्रिया