सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाई, भेटघाट गर्नुपरेमा अनिवार्य स्वीकृत लिनुपर्ने


काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाई गरिएको छ । अनिवार्य भेटघाट गर्नु परेमा स्वीकृती लिन भनिएको छ । बिहिबार सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरुमा परिपत्र जारी गर्दै सशस्त्र प्रहरी कर्मचारीहरुले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्च पदस्त व्यक्तित्वहरु, राजनैतिक दलहरुका नेतृत्व तथा पदाधिकारी लगायत अन्य विशिष्ट व्यक्तिसँग विभिन्न मन्त्रालय तथा अन्य स्थानहरुमा भेटघाट गर्न कडाई गरिएको छ ।

सशस्त्र प्रहरी कर्मचारीहरुले कुुटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश स्वीकृत गरी लागु गरिएको हुँदा सोको पालना गर्न भनिएको छ ।जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुले विभिन्न उच्च पदस्त व्यक्तित्वहरु, सामाजिक अभियन्ता लगायतका विभिन्न संचारमाध्यमहरुलाई संगठनका निर्दिष्ट लक्ष्य तथा योजनाहरुमा प्रतिकुल हुने गरी आफ्नो व्यक्तिगत लाभ र अवसरहरु तथा संगठनका गोप्य सूचनाहरु अनाधिकृत रुपमा प्रकाशन गरेको पाईएमा कडा कारवाही गरिने भनिएको छ ।

राज्यप्रदत्त जिम्मेवारीहरुमध्ये विशेष गरी आतंककारी गतिविधि नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षा जस्तो महत्वपूर्ण जिम्मेवारीलाई ध्यानमा राखी कार्य गर्नुपर्ने भएको हुँदा अनाधिकृत रुपमा गरिने भेटघाटले सांगठानिक मर्यादामा खलल मात्र नभई राष्ट्रिय सुरक्षा एवं अखण्डतामा समेत असर पर्ने भएकोले यस्ता गतिविधिहरुलाई पूर्ण रुपमा निरुत्साहित गरी अघि बढ्ने संगठनको लक्ष्य रहेको छ ।

सांगठानिक हित र आवश्यकताको कारण सूचना आदान प्रदान गर्नु परेमा स्थायी आदेशमा उल्लेखित अनुसूचि अनुरुप फाराम भरी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयबाट पूर्व स्वीकृत लिई भेटघाट गर्न सकिने उल्लेख गर्दै मिडियाँकर्मीसँग छलफल, भेटघाट एवं अन्य तरिकाबाट मर्यादापूर्वक सूचना प्रकाशन गर्न प्रवक्ताको कार्यालयबाट गर्न सकिने व्यहोरा समेत जानकारी गराएको छ । राष्ट्र सेवाको लागि माईनस २० डिग्री सेल्सियस न्यूनतम तापक्रमदेखि ४० डिग्री सेल्सियस उच्चतम तापक्रमसम्म निःस्वार्थ भएर २४सै घण्टा दत्तचित्त भई सेवा गर्ने राष्ट्रसेवक कर्मचारीहरुको समेत मनोवल उच्च हुने गरी संगठनले कार्य गरिरहेको हुँदा कसैको दवाव र भनसुनले राम्रो अवसर दिन नसकिने बताईएको छ ।

फौजी संगठनमा अनुशासीत, मर्यादित र आदेशको पालना हुनैपर्छ, संगठनमा कार्यरत जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको मान, प्रतिष्ठा, इज्जत त्यति नै हुने हुँदा कुनै एक कर्मचारीले गरेको गल्तीले व्यक्तिको मात्र नभई संगठनको समेत बदनाम हुने बताईएको छ ।विशेष गरी सिनियर अधिकृतहरुबाट व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखी उल्लेखित क्रियाकलापमा सकृय हुँदै आउने र संगठनभित्र समूह निर्माण गर्न अग्रसर हुने कुरा सशस्त्र प्रहरी नियमावली भन्दा बाहिर रहने हुँदा त्यस्ता कर्मचारीहरुलाई ऐन नियम बमोजिम कारवाही गरिने बताईएको छ ।

कुनै एक कमाण्डरले देखाएको निरीहता, अकर्मण्डयता र असक्षमताको भार संगठनले बोक्न नसक्ने कुरा प्रष्ट पार्दै त्यस्ता गतिविधि गर्ने जुनसुकै दर्जाका कर्मचारी भएतापनि सशस्त्र प्रहरी एन एवं नियमावलीको नियम बमोजिम कडा कारवाही गरिने बताईएको छ ।

आर्थिक तथा भौतिक रुपमा चाहिने जति सेवा सुविधा तुलनात्मक रुपमा नभएता पनि राज्य दिएको सम्मान र प्रतिष्ठालाई शिरमा राखी आ–आफ्नो पदको मर्यादा र अनुशासनको पालना गरी संगठनले लिएको शुन्य सहनशिलताको नीतिलाई अक्षरस पालन गर्दै सीमा सुरक्षा, शान्ति सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद्मा परेकाहरुको उद्धार तथा सहयोग लगायतका कार्यहरुमा उच्च मनोवल र पेशागत बफादारिताकासाथ लाग्न निर्देशन समेत गरिएको छ । साथै कुनैपनि सशस्त्र प्रहरी कर्मचारीहरुले नियम र आचरण विपरितका कुनै भेटघाट वा राजश्व चोरी निकासीमा संलग्न भएको पाईएमा छिटो भन्दा छिटो केन्द्रिय प्रबक्ता , सीमा हटलाइन तथा स्टाफ अधिकृतलाई खबर दिन समेत अनुरोध गरिएको छ ।