विश्व शान्ति स्थापनामा नेपालको निरन्तर योगदान


पाँचखाल काभ्रे ।

संयुक्त राष्ट्रसंघको ८०औं स्थापना दिवसको अवसरमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा नेपालको निरन्तर योगदान र गौरवलाई स्मरण गर्दै विशेष कार्यक्रमको आयोजना गरेको छ । पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९५८ देखि शान्ति सैनिक खटाउँदै आएको नेपाल आज विश्वकै भरपर्दो, अनुशासित र सक्षम शान्ति सेनादाता मुलुकका रूपमा स्थापित भएको छ । विश्वका विभिन्न द्वन्द्वग्रस्त राष्ट्रमा नेपाली सेनाका ५ हजार ८ सय १९ जना शान्ति सैनिक कार्यरत छन् । जसले युद्धग्रस्त मुलुकहरूमा शान्ति, स्थायित्व र पुनःस्थापना कार्यमा उल्लेखनीय योगदान दिइरहेका छन् ।

शान्ति स्थापनाको यात्रामा हालसम्म ७४ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७५ जना घाइते भएका छन् । यस योगदानका कारण नेपाल संयुक्त राष्ट्रसंघको प्रतिष्ठित सदस्य राष्ट्रका रूपमा विश्व समुदायमा आदर पाउँदै आएको छ ।
नेपालले सन् १९५८ यता ४१ देशका ५२ वटा शान्ति मिसनहरूमा सैनिक र प्रहरी पठाइसकेको छ । जसमा करिब १ लाख ७८ हजारभन्दा बढी नेपाली सहभागी भएका छन् । यस अवधिमा ३ हजार ४ सयभन्दा बढी महिलासमेत मिसनहरूमा खटिएका छन् । जसले लैंगिक समानता र समावेशी सहभागितामा नेपाललाई अग्रणी राष्ट्रको रूपमा स्थापित गरेको छ ।

नेपाल अहिले विश्वका शान्ति मिसनहरूमा महिला सैनिक पठाउने पहिलो राष्ट्रका रूपमा स्थापित छ । हाल १३ वटा मिसनमा तैनाथ करिब ६ हजार ४० नेपाली शान्ति सैनिक तथा प्रहरीहरूमध्ये ५ सय ८० भन्दा बढी महिला छन् । नेपाली सेनाले महिला सहभागिता अभिवृद्धिका लागि लैंगिक समानता, समावेशी रणनीति र संवेदनशीलता प्रवद्र्धनमा उल्लेखनीय योगदान दिइरहेको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले शान्ति स्थापनाको क्षेत्रमा नेपालको योगदान हाम्रो पहिचानको मूल आधार भएको बताउँदै नेपाली शान्ति सैनिकले अनुशासन, व्यावसायिकता र निष्पक्षताले विश्वका सबै मिसनहरूमा नेपालको झण्डा उचाल्न सफल भएको बताउनुभयो ।

शान्ति मिसनमा सहभागिताले नेपालको कूटनीतिक पहुँच विस्तार गर्न मद्दत पु¥याएको छ । द्वन्द्व व्यवस्थापन, संकट समाधान र मानवीय सहयोगमा नेपाली सैनिकले देखाएको दक्षता र समर्पणले नेपाललाई शान्तिप्रेमी राष्ट्रको रूपमा चिनाउन ठूलो योगदान दिएको पनि उहाँले बताउनुभयो ।

शान्ति मिसनमा खटिएका नेपाली सैनिक र प्रहरीहरूले अमूल्य सीप र अनुभव प्राप्त गरेको सेनाले जनाएको छ । ती सीप र ज्ञानले नेपालको आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन र आपत्कालीन सेवा सुधारमा प्रत्यक्ष सहयोग पु¥याइरहेको बताइएको छ ।
नेपाल सरकारले संयुक्त राष्ट्रसंघबाट अनुरोध भएमा १० हजारसम्म शान्ति सैनिक तैनाथ गर्न सक्ने प्रतिबद्धता जनाएको छ ।

सेनाका अधिकारीहरूले यो प्रतिबद्धता नेपालको विश्व शान्तिप्रतिको गहिरो आस्था र जिम्मेवारीको प्रतीक भएको बताएका छन् ।
कार्यक्रममा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा शान्ति सेनाको कार्य प्रदर्शनसमेत गरिएको थियो । शान्ति सेनाले द्वन्द्वग्रस्त मुलुकमा कसरी मानवीय सहयोग, पुनःस्थापना र सुरक्षाको कार्य सञ्चालन गर्छ भन्ने विषयमा विस्तृत प्रदर्शन गरिएको थियो ।

कार्यक्रमले नेपाल विश्व समुदायलाई दिएको सन्देश स्पष्ट थियो । शान्ति हाम्रो आस्था हो, योगदान हाम्रो जिम्मेवारी हो भन्ने भावना प्रकट गरिएको थियो । नेपाली सेनाको अनुशासन, साहस र निष्ठाले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनाको यात्रा अझ विश्वसनीय बन्दै गएको दाबी नेपाली सेनाले गरेको छ ।

नेपाल आज केवल सैनिक योगदानका हिसाबले पहिलो स्थानमा मात्र होइन नैतिक र मूल्यगत दृष्टिले पनि विश्व शान्तिको अग्रदूत राष्ट्रका रूपमा पहिचान बनाइसकेको छ ।
प्रधानसेनापति सिग्देलले अन्त्यमा भन्नुभयो– ‘विश्व शान्ति स्थापनाको यात्रामा नेपालको भूमिकाले हाम्रो कूटनीति, हाम्रो छवि र हाम्रो आत्मगौरव सबल बनाएको छ । यो योगदान नेपाली जनताको सामूहिक गौरव हो ।’