–जसरी पनि गृहमन्त्री हटाएरै छाड्ने, अब निर्वाचन हुनेमा आशंका
काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालको सवालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङको मतैक्यता देखिएको छ । दुवैले गृहमन्त्री अर्यालको राजीनामा माग गर्नुभएको छ ।
मेयर साह र गुरुङको सिफारिसमा गृहमन्त्री बन्नुभएका अर्यालले जेन–जी आन्दोलन दबाउनेमाथि कारबाही गर्न छाडेर धमाधम आन्दोलनमा सहभागीलाई पक्राउ गरेका भन्दै दुवैजना आक्रोशित देखिएका छन् । हत्यारा र भ्रष्टाचारीलाई कारबाही नगरेको र जेन–जीहरूलाई कारबाही गरेको भन्दै गुरुङले हिजो बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस लेखेर आक्रोश पोख्नुभएको छ ।
मेयर साहकै शैलीमा आक्रोश पोख्दै गुरुङले लेख्नुभएको छ– ‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुकाजस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ । प्रधानमन्त्रीको प्रियपात्र भनेर कुर्ची बच्छ भन्ने सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो । जनता जागिसके, युवा जागिसके ।’ आफूहरूले गत भदौ २३ र २४ को आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्नलाई नगरेका भन्दै गुरुङले नेपाली जनता र जेन–जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन नदिइने चेतावनी पनि दिनुभएको छ ।
उहाँले लेख्नुभएको छ– ‘हामी लड्यौं योग्य, इमानदार र परिणाम देखाउने नेतृत्वका लागि । हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं । अब भित्र मनमै सोच्नु होला चुनाव गराएर निक्लन्छु, चुनावको नाटक नचलोस् । २०८४ को चुनाव २०८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो ।’
यसअघि मेयर बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष गृहमन्त्रीलाई हटाउन आग्रह गर्नुभएको थियो । त्यसलगत्तै प्रधानमन्त्री कार्यालयले कसैको दबाबमा गृहमन्त्री नहटाउने आशयको विज्ञप्ति जारी गरेको थियो । मेयर साहले गृहमन्त्रीसँग बदला लिन प्रधानमन्त्री निवास र थापाथलीको ट्राफिक प्रहरी बिट हटाउन असफल प्रयास गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको लिखित निर्देशनपछि कामपा प्रहरी पछि हटेको थियो । प्रहरी बिट हटाउने कामपाका निर्णयमा आपत्ति जनाउँदै गृहमन्त्री अर्यालसहितको टोली प्रहरी बिट पुगेर भत्काउनेमाथि कारबाही गर्ने चेतावनी दिँदै प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको थियो ।
मेयर साहको विरोध भइरहँदा गुरुङले अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश भन्दै लेख्नुभएको छ– ‘सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने भनेर गर्नुभएको वाचा सम्झनुहोस् । दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्रन सक्नुभएको छैन ।’
देशको हितको लागि लड्दा भ्रामक समाचारद्वारा आफ्नो अपमानदेखि चरित्रहत्या गरिँदासमेत सहेर बसेको, कुनै स्पष्टीकरण पनि दिन उचित नठानेको जिकिर गर्दै उहाँले लेख्नुभएको छ– ‘किनभने मैले सोचेको थिएँ, कामले देखाउँछ र कामले बोल्छ । अझै पनि देश बन्छ भने करोडौँ अट्याकहरू सहन तयार छु तर, अब तपाईंबाट आशा मरिसकेको छ ।’
आफ्नो योजनाअनुसार काम नगरेको आरोप लगाउँदैै करिब दुई सातादेखि नै मेयर बालेन्द्रका समूहले गृहमन्त्री अर्यालसँग असहमति जनाउन थालिसकेको छ ।
मेयर साहका पूर्व कानुनी सल्लाहकार रहेका र रूपन्देहीको उपचुनावमा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुन कानुनी सल्लाहकार पद त्याग्नुभएका गृहमन्त्री अर्याललाई आफूले भनेको सबै विषय मान्नुपर्ने धारणा मेयर साह र उहाँको सचिवालयको छ । जेन–जी आन्दोलनको क्रममा दोषीमाथि कारबाही गर्न नसकेको भन्दै मेयर साहले गृहमन्त्रीको आलोचना गर्नुभएको थियो । मेयर साहले गृहमन्त्री हटाउन दबाब दिएको विषयसमेत सञ्चारमाध्यममा छरपस्ट भएको थियो ।











प्रतिक्रिया