काठमाडौँ ।
तिलगंगा आँखा प्रतिष्ठानले विश्वभर मनाइने विश्व मधुमेह दिवस (नोभेम्बर १४) र समय अघिनै जन्मिएका नवजात शिशु दिवस (नोभेम्बर १७) को अवसरमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।
प्रतिष्ठानका प्रमुख चिकित्सकहरूको अनुसार मधुमेह र समयपूर्व जन्मिएका शिशुहरूमा दृष्टि ह्रास र अन्धोपनको जोखिम तीव्र रूपमा बढ्दै गएकोले यस अभियानले जनस्तरमा समयमै परीक्षण र उपचारका माध्यमबाट दृष्टि जोगाउने सन्देश फैलाउने उद्देश्य लिएको हो ।
“कार्यस्थलमा मधुमेहः थप बुझौं र रोकथाम गरौं” भन्ने नाराका साथ मनाइने यस वर्षको विश्व मधुमेह दिवसका सन्दर्भमा प्रतिष्ठानले नोभेम्बर ८ देखि १६ सम्म सप्ताहव्यापी जनचेतना अभियान सञ्चालन गर्ने भएको छ । कार्यक्रमअन्तर्गत सचेतनात्मक ¥याली, निःशुल्क आँखा परीक्षण, स्वास्थ्य शिक्षा सत्र, अडियो–भिडियो सामग्री निर्माण, सञ्चार संवाद, योग तथा जुम्बा कार्यक्रमहरू आयोजना हुने जनाइएको छ ।

कात्तिक २२ गते शनिबारका दिन आयोजना हुने ¥याली प्रतिष्ठानको प्राङ्गणबाट प्रारम्भ हुनेछ । उक्त ¥यालीमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५, एलसिके भिजन सर्कलका सदस्यहरू, स्वास्थ्यकर्मीहरू तथा समुदायका प्रतिनिधिहरूको समेत सहभागिता रहने जानकारी गराईयो ।
प्रतिष्ठानका वरिष्ठ नेत्र–विशेषज्ञ डा. रबा थापाका अनुसार “मधुमेहका कारण आँखाको पर्दामा क्षति हुने ‘डायबेटिक रेटिनोप्याथी’ रोग समयमै पत्ता नलागे व्यक्तिले जीवनभरको दृष्टि गुमाउने जोखिम रहन्छ । नियमित आँखा परीक्षण र सन्तुलित जीवनशैली अपनाएर यस जोखिमलाई रोक्न सकिन्छ ।”
त्यस्तै, डा. इलि प्रधानले भन्नुभयो, “नेपालमा मधुमेहका बिरामीहरू तीव्र गतिमा बढ्दै गइरहेका छन् । हरेक मधुमेह भएका व्यक्तिले वर्षमा कम्तीमा एकपटक आँखा परीक्षण गर्न अनिवार्य हुनुपर्छ ।” उहाँले समयपूर्व जन्मिएका शिशुको दृष्टि जोगाउने सुनौलो अवसर पहिलो २८ दिनभित्र अनिवार्य हुनुपर्छ । नोभेम्बर १७ मा मनाइने विश्व समयपूर्व जन्मिएका नवजात शिशु दिवसका अवसरमा प्रतिष्ठानले देशभरका नवजात शिशु उपचार केन्द्र, बाल–चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्दै रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी सम्बन्धी सचेतनात्मक पहललाई प्राथमिकतामा राखेको छ ।

डा. थापा भन्नुहुन्छ “समय अघिनै जन्मिएका शिशुमा दृष्टि गुमाउने सम्भावना उच्च हुन्छ । जन्मेको २८ दिनभित्रै शिशुको आँखाको परीक्षण गर्न सके जीवनभरको दृष्टि सुरक्षित राख्न सकिन्छ ।” समय अगावै जन्मने बच्चाहरुलाई एनआईसियुमा राखी अक्सिजन, माक्स लगाउने देखि भेन खोल्नुपर्ने लगायतका औषधिहरु प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बच्चाहरु बचाउँन सकियो आँखाको समस्या बढ्दो रुपमा देखिएकाले आँखा समस्यालाई पनि जोगाउँन समयमै उपचार गर्नुपर्छ । २८ दिन पछि परिक्षण गर्नुले नवजात शिशुको आँखा बचाउँन नसकिने हुँदा समयमै चिकित्सक, नर्स, अभिभावक सबैले सचेत गराई आँखा परिक्षण गरि जीवन भरि अन्धोपनबाट जोगाउँनुपर्ने बताउँनुभयो ।
समयपूर्व जन्मिएका शिशुको आँखाको परीक्षण २८ दिनभित्र अनिवार्य गरिनुपर्छ । प्रारम्भिक उपचारले दृष्टि कमजोरी रोक्न अत्यन्तै सहयोगी हुन्छ । परिवार र हेरचाह गर्ने व्यक्तिहरूको सक्रिय सहकार्य शिशुको उज्यालो भविष्यका लागि अपरिहार्य हुन्छ । अन्धोपन रोकथाममा सामूहिक उत्तरदायित्व हुनुपर्ने कुरामा प्रमुख प्रशिक्षक अफिसर पिताम्बर अधिकारीले जानकारी गराउँनुभयो । उहाँ भन्नुहुन्छ, तिलगंगा आँखा प्रतिष्ठानले रोकथाम गर्न सकिने अन्धोपनका विरुद्ध सामुदायिक सहभागिता, सरकारी सहकार्य र स्वास्थ्य क्षेत्रको एकताबद्ध प्रयास आवश्यक रहेको छ ।
“दृष्टि प्रत्येक नागरिकको मौलिक अधिकार हो । समुदायका जिम्मेवार सदस्य, स्वास्थ्यकर्मी, स्वयंसेवक र सरोकारवाला संस्थाहरूले हातेमालो गरी स्वस्थ दृष्टिको अधिकार सुनिश्चित गर्न अग्रसर हुनुपर्छ ।” अस्पतालले आर्थिक अवस्था कमजोर रहेका बिरामीहरूका लागि सहुलियत सेवाको निरन्तर व्यवस्था समेत गर्दै आएको छ । नेपालमा हाल मधुमेहका कारण दृष्टि गुमाउनेको संख्या बढ्दो क्रममा छ । त्यस्तै, समयपूर्व जन्मदर वृद्धिसँगै नवजात शिशुहरूमा आँखा समस्या पनि गम्भीर चुनौतीका रूपमा देखिएको छ । यस सन्दर्भमा तिलगंगा आँखा प्रतिष्ठानले सुरुवात गरेको सचेतना अभियान स्वास्थ्य नीति निर्माताहरूका लागि दिशानिर्देशक उदाहरण हो डा.प्रधान भन्नुुहुन्छ ।
नेपाल सरकार र सरोकारवाला निकायहरूले आँखा स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राखी, रोकथाममुखी नीतिहरूलाई कार्यान्वयनमा लैजानु अपरिहार्य भइसकेको छ । दृष्टि केवल आँखाको उज्यालो होइन यो जीवनको आशा, आत्मविश्वास र स्वावलम्बनको स्रोत हो । तिलगंगाको यो अभियानले देशभरका नागरिकलाई एउटै सन्देश दिएको छ —“समयमै आँखा परीक्षण गरौं, अन्धोपनबाट बचाऔं ।”
अन्तरक्रिया कार्यक्रममा अब बिरामीमो चाप र समयको मागसँग सन्ध्याकालीन सेवा ४ः ३० बजे देखि ७ः०० बजे सम्म संचालन गर्ने कार्यक्रम रहेको पनि जानकारी गराईयो ।












प्रतिक्रिया