रवि लामिछानेको जाँचबुझ आयोगमा ७ घण्टा १५ मिनेट बयान, जेलरको भनाइसँग फरक दाबी


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा नख्खु कारागारमा थुनिएका बेला भएको घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा करिब ७ घण्टा १५ मिनेट बयान दिएका छन्। लामिछानेले भदौ २४ मा जेनजी प्रदर्शन नियन्त्रण बाहिर गएपछि ‘माथिबाटै आदेश आएर’ आफूलाई रिहा गरिएको दाबी गरेका छन्।

उनका अनुसार पार्टीका उपसभापति डीपी अर्याल र पत्नी निकितालाई पहिल्यै खबर गरेर बोलाइएको थियो। उनले आन्दोलनकारीलाई सम्झाउने क्रममा ‘पत्र आएको थाहा पाएपछि’ निस्किएको बताएका छन्।

तर नख्खु कारागारका जेलर सत्यराज जोशीले भने लामिछाने निस्केको डेढ घण्टापछि मात्र आफूले सुरक्षा कारणले पत्रमा हस्ताक्षर गरेको बयान दिएका छन्। सो पत्रमा गृह सचिवको आदेशअनुसार लामिछानेलाई थुनामुक्त गरिएको उल्लेख थियो।

लामिछानेले कारागारबाट बाहिरिएपछि तीनवटै सुरक्षा निकायका प्रमुख र अदालतलाई इमेलमार्फत जानकारी गराएको बताएका छन्। उनले पत्रबारे आफ्नो विरुद्ध ‘अफवाह फैलाइएको’ दाबीसमेत गरेका छन्।