दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता


काठमाडौं ।

दसौं राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । उक्त १२३ औं बोर्ड बैठकको निर्णयअनुसार कर्णाली प्रदेशमा फागुन १ गतेदेखि ७ गतेसम्म प्रतियोगिता आयोजना हुनेछ ।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई ३ महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमण सम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।