नर्स र स्वास्थ्यकर्मीको आन्दोलनलाई पेशागत संघहरूको ऐक्यबद्धता


काठमाडौं ।

देशभरका नर्स र स्वास्थ्यकर्मीहरू पारिश्रमिक तथा पेशागत अधिकारको मागसहित लामो समयदेखि आन्दोलनरत छन्। श्रम शोषणको विरुद्ध एक महिनादेखि जारी आन्दोलनलाई थप सशक्त बनाउन आज विभिन्न स्वास्थ्य पेशागत संघ–संस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरी ऐक्यबद्धता जनाएका छन्।

संयुक्त विज्ञप्तिमा नर्स तथा स्वास्थ्यकर्मीहरूले न्यूनतम पारिश्रमिक नेपाल सरकार सरह दिनुपर्ने, अतिरिक्त समयको भत्ता सुनिश्चित गर्नुपर्ने, ज्यालादारी प्रणाली हटाउनुपर्ने, तलब भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने, सक्कली प्रमाणपत्रहरू राख्न नपाउने र अनुभवको पत्र प्रदान गर्नुपर्ने माग पुनः दोहोर्याएका छन्।

स्वास्थ्यकर्मी संघसंस्थाहरूले मागहरू बेवास्ता भए आन्दोलन अझ तीव्र हुने चेतावनी दिएका छन्। विज्ञप्ति अनुसार, माग सम्बोधन नगरे नयाँ उत्पन्न हुने परिस्थिति र परिणामको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने बताइएको छ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेमा नर्स संघर्ष समिति, नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल पब्लिक हेल्थ एसोसिएसन, नेपाल रेडियोलोजिकल सोसाइटी, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान), हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल सिएमए संघ र नेपाल हस्स्टि विशेषज्ञ संघका प्रतिनिधिहरू रहेका छन्।