काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले स्वदेशमै विद्युत खपत बढाउन सरकार उच्च प्राथमिकताका साथ कार्यरत रहेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले वर्षायाममा उत्पन्न अतिरिक्त विद्युत भारत–बंगलादेश निर्यात गरिरहेको भए पनि दीर्घकालीन लक्ष्य भने स्वदेशको ऊर्जा माग वृद्धिमा केन्द्रित रहेको बताउनुभयो ।
‘चार्जिङ पूर्वाधार विस्तार, खाना पकाउन ग्यास र दाउराको सट्टा विद्युतीय चुलो प्रयोग, ऊर्जा दक्षता तथा आन्तरिक खपत वृद्धि हाम्रो मुख्य प्राथमिकता हो,’ मन्त्री घिसिङले भन्नुभभयो ।
निजी क्षेत्रलाई वायु ऊर्जा उत्पादनमा प्रोत्साहन गर्न सरकार विद्युत् खरिद–बिक्री सम्झौता गर्न तयार रहेको जानकारी दिँदै उहाँले सौर्य ऊर्जा ग्रिडमा जोड्ने र भण्डारण प्रणाली विकास गर्ने नीति सरकारको रहेको बताउनुभयो । सौर्य ऊर्जाको १० प्रतिशत सीमालाई पुनरावलोकन गरी हटाइने र नेट–मिटरिङ नीतिमा सुधार गरिने पनि मन्त्री घिसिङले जानकारी दिनुभयो ।
दुर्गम भौगोलिक क्षेत्रमा विद्युतीकरण (लास्ट–माइल इलेक्ट्रिफिकेशन) अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले यसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि जर्मन राजदूत उडो युजेन भोल्जले जीविकोपार्जन सुधार, स्वच्छ ऊर्जा विकास तथा ऊर्जा रूपान्तरणमा जर्मनी निरन्तर साझेदार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ऊर्जा सचिव चिरञ्जीवी चटौतले स्वच्छ ऊर्जा पहुँच विस्तार र दुर्गम क्षेत्रमा विद्युतीकरणमा केन्द्रको योगदान उल्लेखनीय रहेको बताउनुभयो । केन्द्र कार्यकारी निर्देशक नवराज ढकालका अनुसार हालसम्म झण्डै ३७ लाख घरधुरीमा नवीकरणीय ऊर्जा सेवा पु¥याइएको छ । जसका कारण कुल विद्युत् पहुँचमा नवीकरणीय ऊर्जाको हिस्सा ८.५ प्रतिशत रहेको छ । नवीकरणीय ऊर्जा क्षेत्रमा ५०० भन्दा बढी कम्पनी सक्रिय रहेका छन् भने प्रत्यक्ष–अप्रत्यक्ष ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको उहाँले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा मात्र ४०२ किलोवाट लघु जलविद्युत्, १२ हजार ६८६ सौर्य रुफटप प्रणाली, ३७८ किलोवाट सौर्य मिनी–ग्रिड, २३ हजार १०० विद्युतीय चुलो स्थापना गरिएको उहाँले बताउनुभयो । केन्द्रका कार्यक्रममार्फत हालसम्म ६६.८ लाख मेट्रिक टन कार्बन उत्सर्जन न्यूनीकरण गरी करिब ५ अर्ब ४ करोड रुपियाँ बराबरको कार्बन आम्दानी भएको छ ।
आ.व. २०८१÷८२ को अन्त्यसम्मको केन्द्रमार्फत् लघु तथा साना जलविद्युत आयोजनाबाट ४० हजार ६५५ किलोवाट उत्पादन भएको छ । त्यस्तै ११ हजार १०४ सुधारिएको पानीघट्ट जडान, १० लाख ७८९ घरेलु सौर्य विद्युत प्रणाली, ४ हजार ५४० संस्थागत सौर्य विद्युत प्रणाली, ३ हजार ४७५ किलोवाट पिक सौर्य मिनिग्रीड, सौर्य वायु मिनिग्रीड जडान, ३० हजार ९३९ किलोवाट पिक सौर्य रुफटप, २ हजार ४६४ सौर्य ड्रायर तथा कुकर जडान, ४ हजार २८० सौर्य खानेपानी तथा सिंचाइ पम्प, १ लाख ५६ हजार ५३१ फलामे सुधारिएको चुलो, ३३ वटा संस्थागत ग्यासिफायर, ८२ हजार ४८५ विद्युतीय चुलो, ४ लाख ५६ हजार ७६६ घरायसी बायोग्यास, १४ लाख २३ हजार २४२ सुधारिएको माटोको चुलो, ३७८ संस्थागत, शहरी तथा व्यावसायिक बायोग्यास, १७६६ ऊर्जाको उत्पादनमूलक परिप्रयोग, ३ हजार ३०९ सौर्य सडक वत्ती र ४ हजार ८६५ मठ, मन्दिर तथा होमस्टेमा सौर्य ऊर्जा जडान सम्पन्न भएको केन्द्रले जनाएको छ् ।
सोही अवसरमा मन्त्री घिसिङले ‘नेपालका लागि सौर्य तापीय मार्गचित्र तथा कार्ययोजना–२०८२’ सार्वजनिक गर्दै सन् २०२५ भित्र घरायसी प्रयोगका लागि १,३५४ मेगावाट र औद्योगिक प्रयोजनका लागि २९ मेगावाट बराबरका थर्मल प्लान्ट स्थापना गर्ने लक्ष्यासहित कार्य अघि बढाइने बताउनुभयो ।











प्रतिक्रिया