गोरखा ।
गोरखाको चुमनुब्र गाउँपालिका–१, पाङबारी पिक हिमाल आरोहणका क्रममा हिउँमा फसेर दुई इटालियन नागरिकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुनेमा ५१ वर्षीय फेर्रोनाटो स्टेफानो (Farronato Stefano) र २८ वर्षीय कापुटो अलेस्सान्द्रो (Caputo Alessandro) रहेका छन्।
उनीहरू दुवैजना इटालीका नागरिक हुन्। गत असोज २९ गते पाङबोचेस्थित ताजुङ भञ्ज्याङ नाका हुँदै पाङबारी पिक आरोहणका लागि तीन इटालियन नागरिक र तीन नेपाली सहयोगी त्यस तर्फ प्रस्थान गरेका थिए। तर, हिमाल आरोहणको क्रममा मौसम अचानक परिवर्तन भई अत्यधिक हिमपात भएपछि टोली हिउँमा फसेको थियो।
फसेका मध्ये बेसक्याम्प (५,५०० मिटर उचाइ)मा रहेका ६४ वर्षीय पेरलिनो वाल्टर (Perlino Valter) र उनीसँग रहेका नेपाली सहयोगी — ३५ वर्षीय पेम्बा रेन्जी शेर्पा, ३१ वर्षीय दावा छिरी शेर्पा, र ३१ वर्षीय पासाङ तामाङ — लाई कात्तिक १६ गते कैलाश हेलिकप्टरमार्फत जीवित उद्धार गरिएको थियो।
तर, बाँकी दुई इटालियन आरोहीको खोजीका लागि पठाइएको पर्वतारोहण उद्धार टोलीले सोमबार बिहान उनीहरूलाई हिउँमा पुरिएको अवस्थामा मृत फेला पारेको हो। शवलाई हेलिकप्टरमार्फत आज (मंगलबार) काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पाङबारी पिकको उच्च भागमा लगातार परेको हिमपात र तीव्र हावा चलेकाले उद्धार कार्य निकै कठिन बनेको थियो।
स्थानीय गाइड र नेपाली सहयोगीहरूको सक्रियतामा मात्र शवसम्म पुग्न सकिएको हो। “दुबैजना आरोहीको शव फेला परेका छन्। मौसमका कारण उद्धार ढिलो भयो। अहिले शवलाई काठमाडौं पठाइएको छ,” — प्रहरी प्रमुख एसपी भरत विक, जिल्ला प्रहरी कार्यालय गोरखा पाङबारी पिक (६,०५० मिटर) गोरखाको उत्तरपश्चिम भागमा पर्ने कठिन र कम आरोहण गरिएको हिमाल हो। पछिल्ला वर्षमा विदेशी आरोहीहरूको आकर्षण बढ्दै गएको यस क्षेत्रमा पर्याप्त संचार र मौसम पूर्वानुमानको पूर्वतयारीबिना जाने पर्वतारोहण टोलीहरू जोखिममा पर्ने गरेको स्थानीय प्रशासनले जनाएको छ।











प्रतिक्रिया