डा. निकोसल (कमल) भुसाल गोरखाबाट पक्राउ


काठमाडौं ।

सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा डा। निकोसल भुसाल (कमल भुसाल)लाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीको सहकार्यमा गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट मंगलबार दिउँसो उनलाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार, सामाजिक सञ्जालमा व्यक्त गरेका केही अभिव्यक्तिले व्यक्तिगत मर्यादामाथि प्रहार गर्ने, सामुदायिक सौहार्द र सार्वजनिक मर्यादालाई आघात पुर्‍याउने खालका रहेको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको हो।

गोरखा प्रहरीले पक्राउ पुष्टि गर्दै भन्यो, “उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुरोधमा हामीले आवश्यक समन्वय गरेर डा. भुसाललाई नियन्त्रणमा लिएका हौं,” जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिए।
प्रहरीका अनुसार उनलाई काठमाडौं ल्याएर इलेक्ट्रोनिक सञ्चारसम्बन्धी अपराध (ई-क्राइम) अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइनेछ।

डा.भुसाल पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमा विभिन्न राजनीतिक, धार्मिक र सामाजिक विषयमा टिप्पणी गर्दै आएका व्यक्ति हुन्। उनका केही अभिव्यक्तिहरू विवादास्पद पनि बनेका थिए।