काठमाडौं ।
देशको आर्थिक स्थायित्व, व्यावसायिक सुरक्षा र सुशासनका लागि निजी क्षेत्रले सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय व्यावसायिक पहलको संयोजनमा व्यावसायिक संस्थाका प्रतिनिधिहरूले मुलुकमा देखिएको आर्थिक अनिश्चितता, राजनीतिक अस्थिरता र सामाजिक आन्दोलनका बीच पनि शान्ति, स्थायित्व र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने अठोट व्यक्त गरेका हुन् ।
निजी क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ८० प्रतिशत योगदान र ५० लाखभन्दा बढी रोजगारी सिर्जना गरिरहेको उल्लेख गर्दै राष्ट्रको हितका लागि निरन्तर योगदान जारी राख्नेसमेत प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय व्यवसायिक पहलसँगै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल संघ नेपाल, निर्माण व्यवसायी महासंघ, घरेलु तथा साना उद्योग महासंघ, स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाललगायत ३० भन्दा बढी संस्थाका नेतृत्वबीच छलफलपछि संयुक्त घोषणा जारी गरिएको हो । संयुक्त घोषणाले राष्ट्रिय सुरक्षा, स्थायित्व, पारदर्शिता र विश्वास पुनर्निर्माणलाई केन्द्रीय विषय बनाउँदै सुशासन प्रवद्र्धन, भ्रष्टाचार अन्त्य, निष्पक्ष निर्वाचन र साझेदारीमार्फत दिगो आर्थिक स्थायित्व सुनिश्चित गर्ने स्पष्ट गरेको छ ।
राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले शान्ति र समृद्धि एकअर्काका पूरक हुन् । अबको समय आरोप–प्रत्यारोपको होइन, सहकार्य र साझा जिम्मेवारीको भएको भन्दै निजी क्षेत्र केवल अर्थतन्त्रको साधन नभई राष्ट्रिय एकता र आशाको आधार भएकाले सहकार्य र ऐक्यबद्धतामा जोड दिनुभयो ।
निजी क्षेत्रले सरकार, राजनीतिक दल, सुरक्षा निकाय र युवासँग प्रत्यक्ष संवाद गरी स्वतन्त्र र निष्पक्ष निर्वाचनमा सहयोग गर्ने र उद्यमीहरूको सुरक्षालाई राज्यको अपरिवर्तनीय दायित्वका रूपमा स्थापित गराउने ।
लगानी र व्यवसाय सुरक्षाका लागि कानुनी कार्यान्वयन, भ्रष्टाचार अन्त्य, सुशासन प्रवद्र्धन र सरकारी सेवालाई व्यवसायीमैत्री बनाउन आग्रह गर्ने ।
निजी क्षेत्रप्रति विद्यमान गलत धारणा सच्याउन सूचना र जनचेतना अभियान सञ्चालन गर्ने तथा युवासँग मिलेर पारदर्शिता र जबाफदेहिताको संस्कृतिलाई सुदृढ पार्ने ।र हालैको आन्दोलन र घटनाबाट सिक्दै पारदर्शी, नैतिक र जिम्मेवार व्यावसायिक संस्कृतिलाई निरन्तरता दिने, पूँजी वृद्धि र सुशासनमार्फत समृद्ध नेपाल निर्माणको अभियान अघि बढाउने विषयलाई निजी क्षेत्रले अगाडि सारेको छ ।
त्यस्तै स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले स्थायी नीतिबिना देशको आर्थिक वृद्धि सम्भव नहुने बताउँदै सरकार परिवर्तन भइरहुन्, तर नीति स्थिर हुनुपर्छ । प्रत्येक छ महिनामा नीति परिवर्तन हुँदै गयो भने लगानी असुरक्षित हुने बताउनुभयो ।
उहाँले निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गर्दै लगानीको ग्यारेन्टी र व्यावसायिक वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभयो । मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले व्यावसायिक सुरक्षाका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा सरकारलाई जोड दिनुभयो ।











प्रतिक्रिया