पाठक पत्र : जेनजी आन्दोलनपछि झन् त्रासमा व्यवसायी


देशमा परिवर्तन र सुधारको आशाका साथ भएको जेनजी आन्दोलनपछि व्यवसायी वा व्यापार गरेर बस्ने समुदायले केही राहतको अपेक्षा गरेका थिए । तर, आजको यथार्थ त्यसको ठिक उल्टो भयो । आन्दोलनका क्रममा भएका तोडफोड, बन्द, आन्दोलनपश्चात् भएका कर छलीका आरोप, अनावश्यक छानबिन र कानुनी दबाबका कारण व्यवसायीहरू अझ बढी त्रासमा परेका छन् । कृुन बेला के हुन्छ भन्ने त्रासमा छन् ।

राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता र प्रशासनिक कठोरताले लगानी गर्ने वातावरण कमजोर हुँदै गएको छ । साना व्यापारीदेखि ठूला उद्योगीहरूसम्म व्यवसाय विस्तारभन्दा पनि अस्तित्व जोगाउने चिन्तामा छन् । धेरै व्यवसायहरू बन्द हुने क्रममा छन् । त्यसैले राज्यले व्यवसायीलाई शंका होइन, सहकार्यको दृष्टिले हेर्न जरुरी छ ।

यदि व्यवसायी त्रसित रहिरहे भने रोजगार सृजनाको ढोका बन्द हुनेछ, अर्थतन्त्रको मेरुदण्ड नै कमजोर हुनेछ । त्यसैले सरकारले व्यवसायमैत्री नीति, स्थिर वातावरण र निष्पक्ष प्रशासनिक अभ्यासको सुनिश्चितता गर्नुपर्छ । तब मात्र जेनजी आन्दोलनको अर्थ – न्याय, पारदर्शिता र सुधार – व्यवहारमा देखिनेछ । यस्तै अवस्था रह्यो भने झन बेरोजगारको संख्या बढ्ने देखिएको छ । यसमा सरकारले विशेष रूपले हेर्नुपर्छ ।

सन्ध्या बराल
कोटेश्वर, काठमाडौँ