महानगरमा १५ हजार सामुदायिक कुकुर ५ हजारको सकियो, १० हजारको बन्ध्याकरण सुरु

1.32k
Shares

–बन्ध्याकरण नगरी ढाँटेमा १ लाख जरिवाना
–५ संस्था छनोट, पुससम्म ४ हजार सक्ने लक्ष्य
–बिरालोको पनि बन्ध्याकरण गरिने

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले १० हजार सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने भएको छ । यसअघि गतवर्ष करिब ५ हजार कुकुरको बन्ध्याकण गरिसकेको छ । महानगरभित्र करिब १५ हजारको हाराहारीमा सामुदायिक कुकुर छन् । कामपाले सुरुमा सिंहदरबारभित्र रहेका कुकुरको बन्ध्याकरण गरेको थियो ।

कामपा कृषि तथा पशुपंक्षी विभाग प्रमुख नूरनिधि न्यौपानेले महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिने बताउनुभयो । उहाँका अनुसार ती सामुदायिक कुकुर बन्ध्याकरण गर्न पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ ।

स्नेहाज केयर, क्याट क्लिनिक, एसपीसीए नेपाल मण्डला भेटेनरी अस्पताल र क्याट सेन्टरले बन्ध्याकरणको जिम्मा लिएका छन् । स्नेहाजले २, ८, १२, १३, १४ र २९ वडामा रहेका कुकुर बन्ध्याकरण गर्नेछ । क्याट क्लिनिकले ११, २१, २२, २४, २८, र ३० एसपीसीए नेपालले १, ३, ४, ५, १८, २६ र २७, मण्डलाले ६, १०, २३, २५, ३१ र ३२ र क्याट सेन्टरले ७, ९, १५, १६, १७, १९ र २० वडाका सामुदायिक कुकुरको बन्ध्याकरण गर्नेछ ।

कामपाले भाले र पोथी कुकुर र बिरालोको समेत बन्ध्याकरण गर्नेछ । कामपाले चालू आर्थिक वर्षमा ४ हजार र पुसको नगरपरिषद्बाट थप बजेट व्यवस्था गरी सबै सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने विभाग प्रमुख न्यौपानेले जानकारी दिनुभयो । दुई महिनाभित्र छनोटमा परेका ५ संस्थाले काम सुरु गरिसक्नेछन् ।

कामपाले सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेविजविरुद्धको खोप लगाउन दरखास्त मागेको थियो । विशेषगरी कुकुरको बन्ध्याकरणलाई प्राथमिकता दिएको छ ।

कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कामपाले सबै सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले सम्झौताअनुसार काम गर्न निर्देशन दिनुभएको थियो । विभागका प्रमुख नूरनिधि न्यौपानेले बन्ध्याकरण व्यावसायिक भावले नभई सेवा भावले गर्न आग्रह गर्दै सम्झौताअनुसार तोकिएका मापदण्ड पूरा गर्न निर्देशन दिनुभयो । विभागीय प्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा करिब १ करोड रुपियाँको बजेटमा ४ हजार कुकुरको बन्ध्याकरण गरिनेछ । आगामी पौष महिनाको नगरसभाबाट थप बजेट स्वीकृत भएमा बाँकी सबै कुकुर र केही बिरालोको बन्ध्याकरण गरिनेछ ।

सम्झौतामा वडास्तरीय जिम्मा पाएका संघसंस्थाले वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा बन्ध्याकरण तथा भ्याक्सिनेसन कार्य सञ्चालन गर्नुपर्नेछ । बन्ध्याकरण वा खोप लगाइएका कुकुर–बिरालोको विवरण र तस्बिरसहितको प्रतिवेदन महानगरमा पेस गर्नुपर्ने छ । आवश्यक औषधि, सर्जिकल सामग्री तथा रेबिज खोप संघसंस्थाले आफैं खरिद गर्नुपर्ने उल्लेख छ ।
काम सम्पन्न भएको प्रमाण पेस गरेपछि संख्याको आधारमा ८० प्रतिशत रकम भुक्तानी गरिने र बाँकी २० प्रतिशत अन्तिम चौमासिक प्रतिवेदन बुझाएपछि भुक्तानी दिइने व्यवस्था गरिएको छ ।

बन्ध्याकरणपछि एयर नोच लगाउने र भ्याक्सिनेसनपछि शरीरको देखिने भागमा हरियो रङ लगाएर पहिचान गर्ने छ । ‘बन्ध्याकरण गरिएका जनावरमा स्वास्थ्य समस्या देखिए वा नदेखिएको बारे तीन महिनासम्म निगरानी राख्ने जिम्मेवारी संघसंस्थाकै हुनेछ’ –विभागीय प्रमुख न्यौपानेले भन्नुभयो ।

बन्ध्याकरण वा भ्याक्सिनेसन नगरी दाबी गरेमा उक्त संस्थासँग प्रतिसामुदायिक कुकुर एक लाख रुपियाँ जरिवाना तथा सम्झौता रद्ध गरी संस्था दर्ता खारेजी गर्नेसम्मको व्यवस्था सम्झौतापत्रमा उल्लेख छ । सम्झौताका लागि पत्राचार गर्नेसम्मको सर्तको व्यवस्था गरिएको छ । सम्झौता २०८३ सालको असार २० सम्म कायम रहनेछ । महानगरले बन्ध्याकरण तथा खोपका लागि प्रतिजनावर २ हजार ५ सय रुपियाँ तोकेको छ ।