‘म चानेचुने मान्छे हो र ? पीएचडी गरेको मान्छे पो त !’ मैले आफैँलाई ऐनामा निहार्दै, एक मुक्का छातीमा ठोकेर भनँे । मेरो हिमाल झैँ ठडिएको शिर, समाजका हरेक नकारात्मक सोच विचारलाई स्वाभिमान र दह्रो स्वरमा खण्डन गर्ने प्रवृत्ति, समाजका हरेक सकारात्मक काममा नेतृत्व गर्दै बढ्ने म ।
अवश्य नै सामाजिक जिम्मेवारी र आफ्नो कामलाई पहिलो प्राथमिकता दिने म । अमेरिकामा पीएचडी सकेर आफ्नो देश र समाज बदल्न पर्दछ भन्ने सोचाइ राखेर हिँडेको मान्छे म । समाजका धेरै युवाहरूलाई स्वरोजगार बन्न र विद्यार्थीवर्गलाई कसरी विश्वविद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धामा सहभागी हुन सकिन्छ ? कसरी आफू आफू मै राम्रो बन्ने भनेर सिकाउने म । मेरो बिहानी सुर्योदयभन्दा २,३ घण्टा पहिले नै हुन्छ र रात घर फर्कदा १० नियमित रूपमा बज्छ । मलाई लाग्दछ मैले आर्जेको अन्तर्राष्ट्रियस्तरको शिक्षा र ममा भएको युवा पुस्तालाई उज्वल भविष्य दिने लक्ष्य यिनै भावनाले गर्दा राम्रो तलब पनि हातमा टिक्न पाइरहेको छैन ।
हजुरहरूलाई लाग्दै होला, यसमा केको बखान गर्नुपर्ने कुरा छ र ? हाम्रो समाजका कैयौँ स्वयम् सेवी तथा सामाजिक जिम्मेवारी पूरा गर्न निःस्वार्थ लागेका दाजुभाइहरू छन् । जसले आफ्नै घरको रङ्ग रोगनको हेक्का राख्न पाएका हुँदैनन् । कहिले त महिनौँ घर जान पाउँदैनन् । तर यथार्थ यो हो कि‘म नारी हुँ‘,दुई सेकेन्डसम्म सही र सामान्य लागेको मेरो परिचय अब तपाईँको मष्तिस्कमा पक्कै प्रश्न चिन्ह खडा गर्दै छ । घरपरिवारको जिम्मेवारी पनि त पूरा गर्नुपर्छ । यसरी घरभन्दा बाहिर समय बिताउने नारी के चरित्रवान् र सम्माननीय छन् त ?
मेरी आमालाई घरमा दिनभरि सुत्ने अनि मध्यरातमा स्वास्नी कुट्ने छोराको अन्डरबस्त्र धुन, भाँडा माझ्न कुनै समस्या छैन तर समयको अभावले जुठो थाल मैले एकदिन के छोडँे उनी रिसले मुर्मुरिँदै सबै आफन्तलाई फोन गर्न भ्याइछन् । जुठो भाँडा पनि नपखाल्ने केटीलाई योग्य वर चाहियो भन्दै मेरा शुभचिन्तक विज्ञापन गर्दै थिए । मलाई साह्रै चित्त दुख्योे, सोचेँ पुरातन सोचाइ र हुर्काइको कुरा हो जन्मदिने आमालाई के वचन लगाइहाल्नु । तर, मेरो मौनतालाई उनले कमजोरी मान्न थालिन्, निन्द्राको समय काटेर होस् वा आरामको समय मैले छोरीको कर्तव्य पालना गरिरहँे तर छोरीमान्छे १४,१५ घण्टा घरबाहिर न समाजलाई पच्यो न आमाबाबुलाई नै । सोचँे घरमा काम गर्ने मानिसलाई राख्छु सायद घरको काम गरिन छोरीले भन्ने कुराको अन्त्य हुन्छ कि सायद उमेर पुगेर नै गुनासो आएको होला, मेरो व्यस्तताको हेक्का नभएर त होइन होला ।
समय बदलियो तर उनीहरूको मनको कालो अझ बाक्लिँदै गयो । धेरै फुर्सदिलो भएर होला अब त म बारीको ठुलो, राम्रो, छिप्पिएको काउली भएछु । मेरा घरकालाई बेच्न निकै हतार भएछ, राम्रो मूल्यमा खरिद्ने खरिददार नपाएर कैयाँै महिनादेखि चिन्तामा छन् उनीहरू । घरमा बसेर पाको उमेरमा गुलियो, अमिलो, पिरोबिना विचार गरी चट्कार्ने, दिन बिताउन दिनभरि अर्काको कुरा काटेर बस्ने, कसैको आत्मालाई जानीजानी चिचोड्ने अनि नुन, चुक दल्ने मेरो परिवारलाई लाग्छ उनीहरूको बिपी, सुगर, थाइराइड सबको कारण म हुँ । खै कुन्नि ती डाक्टर भनाउँदा उचित आहारविहार र शारीरिक व्यायाम भन्दै अस्पतालमा लाखौँको बिल थमाउँछन् ।
मेरो सपना थियो—आफ्नो ज्ञानले समाजलाई प्रगतिपथमा अघि बढाउने । तर, समाजको यथार्थ अर्कै थियो । यहाँ पीएचडीभन्दा महत्वपूर्ण हुन्छ—‘कति तौलाको सुन दिन सकिन्छ ?’ जब मैले यस प्रश्नलाई हाँस्दै टार्न खोजेँ, घरमा हल्ला चल्यो—‘लालीगुराँस जस्तो छोरीलाई कोही लिन चाहँदैन, किनभने उसले दाइजो दिन मान्दिन ।’ म सोचमग्न हुन्छु—मेरो शिक्षाले मलाई स्वावलम्बी बनायो, तर समाजले मलाई बजारको सामान बनायो । सपनाको संसारमा नयाँ ज्ञानको खोजी गर्न पसेकी म, फर्केर नेपाल आएपछि समाजको ऐना हेर्दा थाहा पाएँ—मेरो डिग्रीभन्दा मेरो उमेरको चिन्ता समाजलाई बढी छ । ‘बिहे नगरेर के गर्नु ?उमेर त डिग्री जस्तै गम्भीर भइसक्यो,’भनी हप्काउने काकाकाकीको संख्या गणितको क्लासमा पाएको नम्बर जस्तै बढ्दै जान थाल्यो ।
केटा भेट्नका लागि आउँदा मलाई लाग्यो, केटाको परिवार मलाई कुनै बैंकको लोन अफिसर सम्झन्छन् ।
उनीहरूले सोधिहाल्छन्, ‘एउटा सर्टिफिकेटले कति सुविधा ल्याउँछ त ?’ मैले त्यसैबेला सोचेँ, ‘हैन यो विवाह हो कि लगानी योजना ?’त्यसपछि उनीहरूको सम्पत्तिको आँकलन गरेर भने ‘राम्रो लगानी योजना सुनाउनुभयो तर २ वर्षभित्र ४०० प्रतिशत मुनाफा नआउने क्षेत्रमा हात नहाल्ने भाको छु म आजकल ।’ मैले विनम्र स्वरमा भनेँ, ‘मैले पीएचडी गरेकी छु, तपाइँंहरूको कम्पनीको लेखा मिलाउने काम गरिदिन सक्छु, तर यो घाटाको माग मेरो बसमा छैन ।’उनीहरूले त्यसलाई मेरो ठूलो घमण्ड ठाने ।
लमीबाजे मेरो चर्को आवाजको विरुद्ध उभिएर आएर भने, ‘ए नानी ३० वर्षपछिका केटीलाई कुमार केटो पाइँदैन, तिमी जस्ती बुढीकन्याले यस्तो केटो पाउनु भाग्य हो । २०,२२ का कलिला केटीहरूका बाबु आमा हात जोडेर पछाडि परिरहेका छन् । सरकारी जागिरे भन्दै, केटीको कमी छैन उहाँहरूलाई । त्यसमाथि तिमी खुल्ला छाडिएकी गाई, घरबाट त्यति टाढा बसेकी, कसले देखेको र सुनेको छ । तिम्रो पवित्रता बारे ? आजका सबै केटीहरू अपवित्र र जुठा हुन्छन्, केको घमण्ड गर्दै छौ तिमी ? पीएचडी गरेको भनेर घमण्डले भरिएकी हौली तर तिमी जस्ता पीएचडी गर्ने सयाँै छन् नेपालमै ।’
मैले सहनै सकिनँ, ‘निधारमा लामो टीका र टुप्पी पाल्दैमा कोही महाज्ञानी, विद्वान् पण्डित हुँदैन बाजे । शास्त्र पल्टाएर हेर्नुहोस् मर्यादा पुरुषोत्तम रामले पनि रम्भा, ऊर्वशीलाई शिर झुकाएर माता भनी प्रणाम गर्छन् । अरूको चरित्रमाथि प्रश्न गरेर,चरित्रहीन बनाउन सकिन्छ भन्ने भम्र छ हजुरलाई तर यसको उल्टो हुन्छ । जसले प्रश्न गर्छ, अरूको बारेमा बिना प्रमाण बोल्छ, ऊ हिजो, आज र भोलि सधैँ धोबी नै रहने छ । जहाँसम्म चरित्रको कुरा छ, यसलाई लुटाउन गाउँ–ठाउँ नै छोडेर हिँड्नु पर्दैन, हाम्रा गाउँका घेरै अग्रजलाई नबिर्सिनु होला । जुत्ता चप्पल र प्रहरी चौकीको कथाहरू छरपष्ट छन्, चरित्र बेच्न ५ मिनेट अरूको आँखा छले पुग्छ भनेर प्रमाणित गर्न । माफ गर्नुहोस् । चरित्रवान् मानिस आफ्नो चरित्रमा सात समुद्र पार नै किन नगरोस्, रावण जस्तो राक्षसको कैदमा किन नहोस् चरित्रवान् नै रहन्छ ।’
केटा– ‘सही भन्थे पढेका त सडेका भनेर हजुरबुबाहरूले, आज प्रत्यक्ष देखियो यतिसम्म अपमानित र अभद्र व्यवहार । ठुलालाई सम्मान भन्ने कुरा सिकाउन बिर्सिनु भएछ काकाकाकी । हामीलाई यस्तो केटी चाहिएन माफ गर्नुहोला ।’
म ‘सही भन्यौ तिमीले तर, शिक्षित हुनुको ढोङमा नारी पुरुषको समानता आर्थिक आर्जनको लालचा मात्र गर्छन्, ती पुरुषहरू कुनै हालतमा मेरो योग्य छैनन् । तिमी भन्छौ नि तिमी पढेलेखेका पुरुष हौ तर तिमी एक पाखण्डी पुरुष हौ, हरेक कागजी खोस्टोको झोला बोक्ने मान्छे शिक्षित हुन्छ भन्ने हुँदैन ।
शिक्षित हुनलाई आफूले आर्जेको शिक्षालाई यथार्थमा परिवर्तन गर्ने व्यक्तित्व हुनुपर्छ । महिनाको दुई चारओटा नोट घरमा ल्याएर घमण्ड गर्ने तिमीहरू न त आफ्नो कपडा धुने ढंग छ, न खाना खाँदा पोखिएको भातको सिता टिप्ने । वास्तवमा तिमीहरू कमजोर छौ, किनकि तिमीहरू स्त्रीको साहाराबिना एक पल रहन सक्दैनौ । हेर एकफेर यहाँ कैयौँ महिला छन् जो पुरुषबिना आफ्नो जीवन सहजै यापन गर्न सक्छन् । तिमी त्यो पुरुष हौ जो शिक्षित भएर पनि आफ्नै आमालाई सम्मान दिन सक्दैनौ, लैङ्गिक विभेदको पिरमा परेका आफ्नै दिदीबहिनीलाई सम्मानसाथ स्वतन्त्र उडान दिन सक्दैनौ ।
अझै पनि तिमीलाई नारी बजारमा पाइने वस्तु लाग्छ र तिमी दाइजो प्रथालाई चलनको नाममा अगाडि बढाउँछौ । सही हो, पारपाचुकेपछि केटाको सम्पत्ति अंशको नाममा नराम्रोसँग सकिन्छ तर यहाँ कैयाँै नारीहरू छन् जो पुरुषले भन्दा बढी कमाउँछन्, घरको हरेक जिम्मेवारीबिना कुनै विरोध पूरा गर्छन्, तर पनि आखिरमा आफूभन्दा बढी सफलता प्राप्त गर्ने महिलाको हरेक अप्ठ्यारो बाटोमा सहयोग त छोड खुसीसम्म हुन सक्दैनौ तिमीहरू ।
तिमीलाई साङ्ला देखेर डराउँने महिलाको खिस्सी गर्न खुब रमाइलो लाग्छ तर सिंह मार्ने हिम्मतवाली नारीको सरहाना गर्ने सामथ्र्य छैन तिमीहरूमा । ‘‘कसैको अगाडि झुकेर म बस्दिनँ, म आफ्नै सघंर्षमा आत्म सम्मानको बाटो हिँडेको मान्छे । म घमण्डी छु, अश्लील छु वास्तवमा यो समाजको लागि अपाच्य छु तर पनि घमण्डसाथ गगनलाई सधैँ हिमालले छोए झैँ मेरो शिर उठाइरहने छु । बिहेको प्रस्ताव ल्याउने घरका मानिसहरूसँग मेरो डिग्रीको कुनै अर्थ छैन, छ त केबल बुहारी सँगै भित्रिने सम्पत्तिको हिसाब । उनीहरूको पहिलो प्रस्ताव—हामीलाई केही चाहिँदैन, मात्र हाम्रो इज्जत ढाकिदिनुहोला । अनि सुरु हुन्छ इज्जत ढाकिदिने लामै दाइजो पुराण ।
मेरो शिक्षाको महत्व बुझ्नुभन्दा पहिला मलाई समाजले नारी हुनुको कमजोरी बतायो । ‘पीएचडी गरेर के हुन्छ र ?बच्चा जन्माउने त उही महिलाहरू हो,’भन्दै समाजका ठूलाबडा आउन थाले । मैले जबाफ फर्काएँ, ‘हो त, बच्चा त जन्माउने हो, तर मैले मेरो बच्चाको नाम राख्ने अधिकार लिनेछु, नाम’ स्वाभिमान’ राख्नेछु ।’











प्रतिक्रिया