दोलखा ।
दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका लागि गएको १५ जनाको टोलीमध्ये ७ आरोहीको मृत्यु भएको छ भने ४ बेपत्ता तथा ४ जना घाइते भएका छन् ।
रोल्वालिङ क्षेत्रमा पर्ने ना गाउँका स्थानीयले भने हिमपहिरोमा परी ५ विदेशीसहित ७ जनाको मृत्यु भएको बताएका छन् । मृतक ७ जनामध्ये फ्रान्सका आरोही क्यारोल फुचसको मात्र नाम खुलेको छ । बेपत्ता हुनेमा नेपाली गाइड पदम तामाङ, इटलीका पाउलो कोको र क्यानेडियन नागरिक मार्कोस डी मार्सेलोसको मात्र पहिचान खुलेको छ । चार जना घाइतेमध्ये नेपाली गाइड निमाग्याल्जेन शेर्पाको मात्र पहिचान खुलेको स्थानीय प्रशासनले जनाएको छ ।
उनीहरू गत कार्तिक ११ गते आरोहणका लागि दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमालतर्फ गएका थिए । सोमबार बिहान ४ बजे बेसक्याम्पबाट आरोहणको लागि प्रस्थान गरेको उक्त टोली बिहान ८ बजेतिर यलुङ रि हिमालको चुचुरोमा पुग्ने क्रममा हिमपहिरोमा परेका थिए ।
गौरीशङ्कर गाउँपालिका–९ का वडा अध्यक्ष निमगेली शेर्पाले यलुङ रि हिमाल आरोहणका क्रममा ५ जना विदेशीसहित ७ जनाको मृत्यु भएको र ४ जना बेपत्ता भएको खबर पाएको र त्यसबारे थप जानकारी लिने प्रयास गरिरहेको बताउनुभएको छ ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले यलुङ रि हिमाल आराहणको क्रममा १५ जनामध्ये ७ जनाको मृत्यु भएको, ४ बेपत्ता तथा ४ घाइते भएको खबर प्राप्त भएको र उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको बताउनुभयो ।
बेपत्ताको खोजी र घाइतेको उद्धारका लागि सोमबार दिउँसो लामाबगरबाट नेपाली सेनाको ३५ जना, सशस्त्र प्रहरी बलको १० जना र नेपाल प्रहरीको ५ जनाको टोली यलुङ रि हिमाल क्षेत्रमा गएको नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोकसागर कटुवालले बताउनुभयो ।











प्रतिक्रिया