कांग्रेस जुट्ला कि फुट्ला ?

दुवै पक्षबाट महाधिवेशनसम्बन्धी फरकफरक प्रस्ताव पेस हुने


काठमाडौं ।

१५ औं महाधिवेशन कहिले गर्ने भन्ने सम्बन्धमा कांग्रेस संस्थापन पक्ष र इतर पक्षबीचको विवादले कांग्रेस पनि फुट्ने संकेत देखिएको छ । यद्यपि, नेताहरूले कांग्रेसको विवाद समाधान हुने र फुटतर्फ नजाने बताउँदै आइरहेका छन् ।

नेपाली कांग्रेसको संस्थापन पक्षको सोमबार सम्पन्न भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेसँगै कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ । कांग्रेसमा शेखर पक्ष र महामन्त्री गगन पक्षले विशेष महाधिवेशसनको माग गर्दै आइरहेका छन् । उनीहरूले फागुन २१ मा हुने निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुनुपर्ने प्रस्ताव गर्दै आइरहेका छन् । तर, सोमबार संस्थापन पक्षको भेलाले त्यसलाई काउन्टर दिँदै १५ औं महाधिवेशन आगामी २०८३ सालको वैशाखमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव मंगलवार बस्ने केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेपछि कांग्रेसभित्रको विवाद उत्कर्षमा पुग्ने देखिएको हो ।

संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।

संस्थापन पक्षको भेलाले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि पार्टीका सबै तहलाई सक्रिय रहन आह्वान गर्ने निर्णयसमेत गरेको छ ।यसै गरी १५ पुसभित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरी सक्नुपर्ने, सम्पूर्ण तहमा घरदैलो अभियान सञ्चालन गर्दै निर्वाचनका लागि जागरण अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने प्रस्तावमा दुवै पक्षबीच सहमति जुट्न नसक्दा यसअघि शुक्रवार र आइतबारका लागि डाकिएको बैठक स्थगित भएको थियो । बैठक आज मंगलवारका लागि बोलाइएको छ ।संस्थापन पक्षले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गरिसकेका कारण भोलिको बैठकमा संस्थापन र संस्थापन इतर दुवै पक्षको प्रस्ताव पेस हुने देखिएको छ । इतर पक्षले यसअघि नै विभिन्न प्रस्ताव तयार पारिसकेको थियो । सो प्रस्ताव बैठकमा पेस हुने डरले कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गर्दै आउनुभएको थियो ।