सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको  निर्देशन


काठमाडौँ। 

 प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएकी छन् ।

सिंहदरबारमा साेमबार अन्तरिम सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिँदै उनले यस्तो निर्देशन दिएकी हुन् । गत भदाै २३-२४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण सुशासन र प्रभावकारी सेवा प्रवाह आजको आवश्यकता रहेको उनले बताइन् । सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न समेत उनले निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको मनोवल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न निर्देशन दिइन्  । आम-नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अबलम्वन गर्न उनले निर्देशन दिएकी  छन्। कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउन आवश्यक कामहरु गर्न समेत उनको निर्देशन थियो।

प्रधानमन्त्री कार्कीले तीनै तहका सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउन आवश्यक कामहरु गर्दै कानूनको शासन प्रत्याभूत गर्न सबै खाले आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्नुपर्नै जरुरी रहेको बताइन् ।