दोलखा।
दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणको लागि गएको १५ जनाको टोलि मध्य ७ जना बेपत्ता भएको स्थानीयले बताएका छन् । त्यसमध्य केहीको मृत्यु समेत भएको हुनसक्ने स्थानीय बताउँछन् । अन्य केही भने घाइते भएको स्थानीयको भनाई छ ।
गत कार्तिक ११ गते आरोहणको लागि दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल गएको र आरोहणको क्रममा सोमवार विहान ८ बजेतिर हिमपहिरोमा परी उनीहरु बेपत्ता भएको स्थानीय बताउँछन् ।
गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष निमगेली शेर्पा आफूले पनि यलुङ रि हिमाल आरोहणको क्रममा केही आरोही बेपत्ता भएको खबर पाएको र त्यसबारे थप जानकारी लिने प्रयास गरिरहेको बताउँछन् ।
आरोहण टिममा दुई-तीन वटा ग्रुप रहेको बुझिएको छ । एउटा ग्रुपमा दुई जना विदेशीसहित चार जना रहेको र उनीहरु यलुङ रि आरोहण लगतै ६ हजार मिटर माथिको रोल्वालिङ क्षेत्रमै पर्ने डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको बुझिएको छ । डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको दुई जना भने ना गाउँमा बसेको स्थानीयले बताए ।
उनीहरु बेपत्ता भएको खबर ना गाउँमा १० बजेतिर थाहा भएको र लगतै उद्धारको लागि हेलिकप्टर मगाइएको भएपनि कानुनी प्रक्रिया पूरा गर्दा ४-५ घण्टासम्म पनि हेलिकप्टर आउने अवस्था नभएको बेपत्ता आरोहिका साथीहरुले गुनासो गरे । हेलिकप्टर बेलामै आउनसकेको भए उद्दारमा सहज हुने उनीहरु बताउँछन् ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले यलुङ रि हिमाल आराहणको क्रममा १५ जना मध्य ७ जना बेपत्ता भएको खबर प्राप्त भएको र उनीहरुको खोजी तथा उद्धारको प्रयास भै रहेको बताए ।
बेपत्ताको खोजी र घाइतेको उद्धारको लागि सोमवार दिउँसो लामाबगरबाट नेपाली सेनाको ३५ जना, सशस्त्र प्रहरी बलको १० जना र नेपाल प्रहरीको ५ जनाको टोलि यलुङ रि हिमाल क्षेत्रमा गएको नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।











प्रतिक्रिया