क्राउन प्लाजा लुम्बिनी सञ्चालनको तयारीमा, आइपिओ छिट्टै आउने


काठमाडौं ।

अन्तर्राष्ट्रिय आतिथ्य समूह आइएचजी होटल्स एण्ड रिसोर्टस् र लुम्बिनी हेरिटेज लिमिटेडबीच नयाँदिल्लीमा सहकार्य सम्झौता भएको छ । सम्झौतामा लुम्बिनी हेरिटेजका अध्यक्ष सुभाष अमात्य र आइएचजी होटल्स एण्ड रिसोर्टस्का दक्षिण पश्चिम एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै आइएचजीले पहिलो पटक काठमाडौं बाहिर सेवा विस्तार गर्दै लुम्बिनीमा प्रिमियम ब्रान्ड क्राउन प्लाजा सञ्चालन गर्नेछ । हाल लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी हेरिटेज होटललाई पुनःब्रान्डिङ गरी ‘क्राउन प्लाजा लुम्बिनी’ नाम दिइनेछ ।

यसअघि ‘पवन प्यालेस लुम्बिनी’का नाममा सञ्चालनमा रहेको सो होटललाई अधिग्रहणपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनःरूपान्तरण गरिएको हो । होटलमा कुल १४७ कोठा छन् । जसमा ७ स्वीट रुमसहित, आधुनिक बहुउद्देश्यीय हल, रेष्टुराँ, फिटनेस सेन्टर, स्वीमिङ पुल र अन्य प्रिमियम सुविधा रहनेछन् । साथै, आगामी आठ महिनाभित्र क्यासिनो सेवा सुरु गर्ने योजनासमेत कम्पनीले जनाएको छ ।

लुम्बिनी हेरिटेज होटल भगवान् गौतम बुद्धको जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ९ किलोमिटरको दूरीमा छ । कम्पनीले सन् २०२६ भित्र सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने योजनासमेत अघि सारेको छ ।

लुम्बिनी हेरिटेजका अध्यक्ष सुभाष अमात्यले भन्नुभयो–‘आइएचजीसँगको सहकार्यले लुम्बिनीको आतिथ्य सेवा नयाँ स्तरमा पुग्नेछ र यस क्षेत्रको पर्यटन सम्भावनामा थप ऊर्जा भर्नेछ ।’आइएचजीको क्राउन प्लाजा ब्रान्ड पहिले नेपालमा सोल्टी होटल काठमाडौंमा सञ्चालित थियो । सो सम्झौता १४ मे २०२१ मा समाप्त भएपछि लुम्बिनी हेरिटेजमार्फत क्राउन प्लाजा पुनः नेपाल फर्किएको छ ।