काठमाडौं ।
अन्तर्राष्ट्रिय बजारमा गत साता सुनको मूल्यमा उच्च गिरावट आयो । एकैपटक करिब ६ प्रतिशतले सुनको मूल्य घटेको थियो । यो अप्रिल २०१३ यताकै सबैभन्दा ठूलो दैनिक गिरावट हो । यसअघि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै उक्लिरहेको थियो । एकैदिन उच्च गिरावट आयो । तर, अन्तर्राष्ट्रिय बजारमा घटेअनुसार नेपालमा मूल्य समायोजन भएन । अर्थात् अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरमा घट्दा पनि नेपालमा त्यो गिरावट क्यालकुलेसनका आधारमा नभएपछि टीकाटिप्पणी भयो ।
तिहारपछि कारोबार सुरु भएको पहिलो दिन सुनको मूल्य करिब साढे ११ हजार रुपियाँ प्रतितोलाले घट्यो । तर, त्यस बेला अन्तर्राष्ट्रिय बजारमा ५ प्रतिशतभन्दा बढीको गिरावट हुँदा प्रतितोला १८ हजार रुपियाँको हाराहारीमा घट्ने अनुमान थियो । जसको तुलनामा नेपालमा गिरावट अनुपात तुलनात्मक रूपमा कम हो । यसको प्रमुख कारण नेपालमा सुन आयात गर्ने एक मात्र प्रणाली वाणिज्य बैंकहरूले आफ्नो लागतमाथि प्रिमियम थप्नु रहेको व्यवसायीहरूको दाबी छ । यस प्रक्रियाले नेपालमा सुनको मूल्य बढ्ने वा घट्नेमा वाणिज्य बैंकको भूमिका निर्णायक हुने व्यवसायीहरू बताउँछन् ।
नेपालमा सुनको मूल्य दैनिक रूपमा नेपाल सुनचाँदी व्यवसायी महासंघको ‘मूल्य निर्धारण समिति’ मार्फत् हुन्छ । मूल्य निर्धारण प्रक्रिया वाणिज्य बैंकहरूले पु¥याउने मूल्यांकन (बेस प्राइस)लाई आधार मानेर गरिन्छ । अघिलो दिनमा बैंकहरूले व्यवसायीलाई सुन कति मूल्यमा उपलब्ध गराए, त्यो मूल्यलाई महासंघले लिने र त्यसमा ०.५ प्रतिशत थप गरेर नयाँ दिनको मूल्य तोक्ने चलन छ । वाणिज्य बैंकहरूले सुनको मूल्य तय गर्दा अन्तर्राष्ट्रिय बजारको स्थानीय दिनको मूल्य, त्यस दिनको अमेरिकी डलरको विनिमय दर, नेपालमा लाग्ने भन्सार महसुल दर, र बैंक र सुन व्यवसायीको अपेक्षित नाफालाई आधार मानिन्छ ।
विशेष गरी, नेपाल राष्ट्र बैंकको सुन–चाँदी वितरण निर्देशिका (२०६८) अनुसार, सुन आयात गर्ने बैंक र व्यवसायीलाई प्रत्येक पक्षलाई अधिकतम ०.५ प्रतिशतसम्म नाफा जोड्न पाइने व्यवस्था छ । यसको मतलब वाणिज्य बैंकले सुन आयात गर्दा त्यसको मूल्यमा १० प्रतिशत भन्सारदर थप्ने र त्यसपछि आफू र सुन व्यवसायी दुवैलाई ०.५–०.५ प्रतिशत नाफा जोड्ने गरेका छन् ।
नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूसँग मात्र भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपालमा सोही अनुपातमा मूल्य घट्न सक्दैन । वाणिज्य बैंकहरूले पूरै लागत घाटामा सुन नबिक्ने हुँदा जब विश्व बजारमा मूल्य धेरै घट्छ, बैंकहरूले अपूरो लागत ओगट्न थप ‘प्रिमियम’ पनि राख्ने व्यवसायीहरूको भनाइ छ ।
सुनको मूल्य वृद्धि प्रमुखतया वैश्विक व्यापार तनाव, उच्च मुद्रास्फीति र अर्थतन्त्रमा अनिश्चितताका कारण सघन सावधानी (सेफ–हेभन) लगानी हुनुले हो । यद्यपि, अहिले केही सकारात्मक संकेतहरू देखिन थालेपछि लगानीकर्ताहरूले नाफा बुकिङ थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा कुल मिलाएर मूल्य पुनःस्थिरीकरण (संकलन) भइरहेको अवस्थामा, सुनको भाउमा अहिले सामान्य गिरावट देखिएको हो ।
विश्लेषकहरूले विगतका उच्च वृद्धिपछि लगानीकर्ताहरूले नाफा निकाल्न थालिसकेको र ब्याजदर तथा मुद्रास्फीतिसम्बन्धी अर्को मुख्य आर्थिक तथ्यांकको प्रतीक्षामा रहेको कारणले पनि मूल्य मन्दी आएको संकेत दिएका छन् । यद्यपि, विश्वव्यापी रूपमा सुन अहिले पनि उत्तिकै उच्च मूल्यवान् रहेको छ । लामो अवधिको उतारचढावको बजार प्रक्षेपणलाई समीक्षामा राखेर हेर्दा बुकिङ र प्रतिकूल परिस्थितिका संकेतहरूले अस्थायी गिरावट ल्याएको देखिन्छ । विश्लेषकहरूका अनुसार अमेरिकी सरकारले ऋण बढाएको र अमेरिकी डलर कमजोर भएको समयमा चीन––अमेरिका बीच व्यापारिक वार्ता प्रगतिको संकेत देखिएपछि सुनमा लगानी गरेकाहरूले नाफा सुरक्षित गर्न सुन बिक्री गरे, जसले गिरावटलाई गति दिएको मानिन्छ ।











प्रतिक्रिया