दर्जन वर्षमा दर्जन नै प्रधानमन्त्री फेरिने देश हो हाम्रो । अस्थिर राजनीति र अस्थिर प्रशासनमा विकास र समृद्धिको नारा बेकारको हुन्छ र त आँटिला मानिस बसेनन् यहाँ, जोसिला मान्छे गए खाडी र मलेसियामा । रेमिट्यान्सको भोको र विश्वको विप्रेषणमा चलेको देश हो यो, जहाँ पासपोर्टको लागतभन्दा हजारौँ बढीमा बिक्री भई मानिस निर्यात र अधिकांश वस्तु आयात हुन्छ । महानगरले फूलमा प्रतिबन्ध लाइदिँदा फूलको कष्ट साह्रै महँगो भयो यसपालि तिहारमा । सवा सय वर्षमा ३५ सय मेगावाट बिजुली उत्पादन गरेर सबै आफू प्रयोग गर्न नसक्ने अनि प्रयोग हुने विकास र उद्योगधन्दाहरुमा भोटेताल्चा लगाउने देश पनि हाम्रै हो, कोरा प्रशासन र कुरुप सुशासन बोकेको लोभतन्त्रको काम हो यो ।
साझा बस, ट्रली बस, इँटा कारखाना, छालाजुत्ता कारखाना, भृकुटी पेपर मिल, गोरखकाली रबर उद्योग, रोजिन एन्ड टर्पेन्टाइन, हेटौँडा सिमेन्ट, बालाजु कपडा उद्योग, उदयपुर सिमेन्ट कारखानामा दलीय झन्डा गाडेर देशको अस्मिता बेच्दै लुटधन्दा चलाई सबैतिर राजनीतिको बीउ छर्ने देश पनि हाम्रै हो । बेरोजगार नेपाली र तिनको शव अनि बाकसबन्दीमा खाडीबाट फर्केको रोगग्रस्त मनस्थिति बोकेर त्यसैमा राजनीति गर्ने र मरेको २ वर्षपछि विपिन फिर्ता ल्याउने देश हाम्रै हो, जहाँ अधिक ऋण छ, अधिक व्यापारघाटा छ, अधिक महँगी छ र अभैm पनि विप्रेषण चल्ने अनि भोट नचल्ने उही परम्परा छ ।
देश लुट्ने क्रममा राजननीतिक ठूला कार्यकर्ताहरुले औषधोपचारमा १० अर्ब बढी रकम देशलाई नोक्सान पार्ने, जनतालाई भोकमरी र बेरोजगारमा राखेर कोरोनामा समेत कमिसन देख्ने लोभतन्त्र अहिले ढलेको छ तर देशै ढाल्ने आँधिबेहरी आएर सबैको भागाभाग हुँदा पनि तिनको अहंकार उस्तै रहेको देख्दा अचम्म लाग्छ । सक्किने कि सच्चिने अन्तिम विकल्प त उनान्असीमै थियो तर संसदीय प्रणाली मर्यादा विपरीत गएर ठूला दलकै हालिमुहालीमा परेको देशमा नयाँ हावा चल्यो भाद्र २३ र २४ मा, नसोचेको भयो र देशको इतिहास नै अर्को भइदियो । सिंहदरबार मात्रै जलेन, ढलेन, अधिकांश प्रशासनयन्त्र रहेका घर, भवनहरु जले, ढले मात्रै होइन, धेरै राजनीतिका अखडा बनेका व्यापारिक मलहरु पनि जले, ढले, जसले अखडा बनाएका थिए, अब तिनले सिँगौरी खेल्न नसक्ने भएका छन् ।
राणा शासनविरुद्ध होमिएको देशमा बुच कमिसन भनौँ प्रशासन सुधारका योजना आए वि.सं. २००९ तिरै । प्रशासन पुनर्गठन योजना आयो, बन्यो २०१३ सालतिरै । प्रशासन सुधार आयोग बन्यो २०२५ तिरै । अर्को सुधार आयोग बन्यो २०३२ तिरै । २०४८ मा अर्को बन्यो । २०५५ सालमा त २५ बर्से सार्वजनिक प्रशासनको गुरुयोजना अध्ययन प्रतिवेदन नै बन्यो । पछिल्ला दिनहरुमा पनि भ्रष्टाचार नियन्त्रण सुझाव समितिहरु बने । आयोग, समितिको कुनै कमी भएन । २०५६ मा भ्रष्टाचार नियन्त्रण प्रतिवेदन आयो भने सार्वजनिक खर्च पुनरावलोकन आयोग २०५७ मा आयो ।
निजामती सेवामा तहगत प्रणाली लागू भयो, मानव संशाधन मन्त्रालयको गठन प्रतिवेदन २०६२, प्रशासन पुनर्संरचना आयोग प्रतिवेदन २०६५, निजामती सेवा उत्प्रेरणाको विद्यमान अवस्था सर्वेक्षण प्रतिवेदन २०६८, प्रशासन सुधार सुझाव प्रतिवेदन २०६८, २०७०, उच्चस्तरीय सुधारको कार्यान्वयन प्रतिवेदन २०७६ आदि जे जति बने पनि निजामती सेवा लोकतान्त्रिक भएन र गराउन चाहेनन् राजनीतिकर्मीहरुले । पछिल्लो समय संसद् विघटनपूर्व सुशासन समितिका सभापति नै छक्का दाउमा परेर राजीनामामा जानुपरेको अवस्था रह्यो ।
प्रशासनयन्त्रमा तरमारा र लोभी–पापीहरुको जमात रह्यो, सुशासन नाममात्रको रह्यो र कसैमा जिम्मेवारीबोध भएन । जसरी भए पनि आफ्नो दुनो सोझ्याउने र देशको ढुकुटीमा रजाइँ गर्ने पम्परा बस्यो । दल र दलका भ्रातृ संगठनहरुले त्यही सिकाए र मालदार कार्यालय छान्दै धन कमाउनतिर लागे । जनताको मन कमाउनतिर नलाग्दा नै भाद्रमा देशका संरचनाहरु ध्वस्त भएका हुन् । सिंहदरबारले आम नेपालीलाई सुशासन दिएन, संसद्ले आम जनताको मुद्दा उठाएन, सर्वोच्च अदालतले आम जनतालाई न्याय दिलाउन सकेन, सबैतिर ठेकेदारी उन्मूलन पनि हुन सकेन ।
भैँसेपाटीमा आलिशान महल बनाउने लोभतन्त्रले बालुवाटारलाई दलको अखडा बन्यायो र शीतलनिवास पनि दलीयकरणमा पर्दा नागरिकता विधेयकमा को सभामुख थिए, पहिले को राष्ट्रपतिले विधेयक रोके ? कसरी खुलाइयो तमाम विषय, आम नागरिकलाई अनभिज्ञ भएको विषय बनेन । पाँच वर्षमा देशलाई थपिएको ऋण र व्यापारघाटा, एक–दुई दशकमा आएको उत्पादनको मन्दी र विदेशीहरुले सधैँ देशलाई क्रीडास्थल, फूलबारी बनाएको पनि विषय पनि अवगत छ । राजदूत आउँदा वा समुद्रपारबाट टेलिफोन आउँदा थर्कमान हुने नेताजीहरुले देशको माटो, गिट्टी बेचे, नदीनाला बेचे, असमान सन्धि गरे, सम्झौता गरे, देशको नक्सालाई आपैmँ राखे अरुलाई दिएनन्, त्यो पनि झुटको राजनीति गरे, विदेशीलाई चिढ्याए, कहिले भारुराम भए, कहिले ठोरीराम भए, कहिले शिवचाम्लिङ भए ।
जे भए, मनगढन्ते भए । सुशासनका नाममा जनतालाई दिनुसम्मको दुःख दिए । वाइडबडी खानेहरुले ललितानिवास खाए, सेरा दरबार भजाए, टीकापुर खाए, नक्साल बालमन्दिर मात्रै खाएनन्, बाँसबारी खाए, एनसेल खाए, विद्युत्् बक्यौता खाए, भुटानी शरणार्थी खाए, गिरिबन्धु खाए, दरबार ट्रस्टको जग्गा खाए, गोकर्ण रिसोर्टदेखि सबै खाए, खुवाए, राजदूत खाए, खुवाए, जोडी नै सांसद बनाए, निमुखाको कोटा खाँदै राष्ट्रिय सभामा लगे । पति, पत्नी, साला, साली, ससुरा, भाइ, भतिज, जुवाइँ, छोरीलाई देश खाने बनाए, खुवाए । यति निकृष्ट चाला लोकतन्त्रमा सुहाउँदैनथ्यो र जति भने पनि नलागेपछि जनता उठे धक्काए, सुरुङ धस्काए, घर र भित्रका सुनखानीदेखि डलर खेतीको सबै पर्दाफास गरिदिए । बूढानीलकण्ठ अब बसिसक्नु छैन, न बालकोट नै छ, पुल्चोकदेखि भैँसेपाटीसम्म र टावरदेखि कतै सुरक्षित छैन । बाथरुममा गएर ज्यान जोगाउने परिवेश बन्यो देशका महामहिम भनिएकाहरुलाई । श्रीलंका, बंगलादेशको अवस्था आउन सक्छ समयमा बुद्धि नपुगे भनी धेरैपल्ट भनिरहँदा कानमा बतास लागेन र अहिले भागे । बच्दा र पछि पनि स्वर र अहंकारमा कमी आएको देखिएको छैन ।
लोकतन्त्रको आदर्श भनेकै सुशासन हो, पारदर्शिता हो, जिम्मेवारीबोध हो र कुनै आदर्श हाम्रो लोभतन्त्रले बोक्नै सकेन । पढे–लेखेका व्यक्तिहरु पुगेनन् त्यहाँ । देशको इतिहास, धर्म, मौलिक संस्कृति र सभ्यता बुझेनन् । जे बुझे आयातीत बुझे । विदेशीहरुको धेरै जुठो खाए, आफ्ना नातालाई सुविधा दिए, आम नागरिकहरुलाई निर्णय तहमा पुग्न दिएनन्, पुगिहाले पनि सहभागी बनाएनन्, माइनसमा राखे ।
संस्कार–संस्कृति बेचुवा, धर्मछाडा, होलिवाइनका नायकहरुले देशका उद्योगधन्दाहरुलाई स्वाहा पारे । आम बेरोजार बनाए । कृषिमा मात्रै होइन, सेवाक्षेत्रमा पनि उपद्रो नै गरे, माटोलाई विषाक्त बनाए, वायुमण्डल नै बिगारे । खण्ड वृष्टि, अनावृष्टि, अतिवृष्टि धेरै यिनकै पालामा भएको हो । पूर्वाधार कुनै समयमा पूरा भएन, गलिरह्यो, हिउँद–वर्षै जनता असुरक्षित रहे, औषधिमूलो पाएनन् । बिमाको भुक्तानी भएन । उखु किसान तड्पिए । चामलका लागि बालुवाटार पुग्नुपर्ने र सधैँ थापाथली मण्डला जगाउनुपर्ने संघीयता ल्याइयो । टोल–टोलमा राजा बनाए, जनतालाई रैति बनाए । एक छाक खान, एक झुम्रो लगाउन खाडी जानुपर्ने बनाइयो । गाउँमा जन्ती–मलामी नहुने र डोजर आतंक गराएर वन, बाटो, कान्ला, खेत, बारी धसे । ठेक्कापट्टाबाट देशलाई सिध्याए, कुरुप बनाए ।
राजनीतिको चुनाव धेरै महँगो बनाए, पैसावाला व्यापारीलाई नै छाता ओढाए । शिक्षा, स्वास्थ्य धेरै महँगो पारे । राजस्व तिर्नै नसक्ने मात्रै पारेनन्, कर असुलीका लागि टोले गुण्डाहरु जम्मा गरेर आम सर्वसाधारणको रगत चुसे, गिदी खाए, किशोरीहरु बलात्कृत भए, आम मानिस निराश भई आत्महत्या गर्न बाध्य पारे, बैँक लोन तिर्न सकेनन्, रुखमा आँप फलेन, लास फल्ने गराए । सम्पूर्ण वस्तु आयात हुने भयो । चामलमा आत्मनिर्भरको खोक्रो नारा दिए । जीउको जनैसमेत विदेशबाट आउने गराए । शान्तिसुरक्षा दिन सकेनन् । लगानी वातावरण तय गर्न सकेनन् । ऋण बढ्ने, अनुदान घट्ने बनाए । वैदेशिक लगानी खुम्च्याए । बजार सहजीकरण भएन, किनेर खान्छु भन्दा वस्तु सहज आपूर्ति भएन र कम मूल्यमा किनेको तेल भारी मूल्यमा बेचेर नेपाली आम उपभोक्ताको घाँटी सुकाए । मेलम्चीमा अधिक राजनीति गरे ।
पूर्वाधार देशको माटो सुहाउँदो भएन । विकास मोडेल माटो सुहाउँदो भएन । प्रकृतिले पनि ठग्न बाध्य भएर हरेक वर्ष बगायो सडक, मान्छे र सवारीसाधनहरु । जलवायु संकट भन्दै राजनीतिकर्मीहरु विदशीको भीक्षा माग्न गए । यता संरक्षण गर्न सकेनन् र पछिल्लो समय सुरुङमा सुनखानी भेटियो । अनुशासनको धज्जी उडाइयो, सोझालाई कानुन लगाइयो, बाठा र चाटुकदार विश्वविद्यालयमा ढुंगा हान्दा बालुवाटारमै गएर लुके, बसे । सुरक्षाकर्मीहरुलाई आफ्नो बनाए, कर्मचारीलाई दलको खेताला बनाए । तमाम संघसंस्थाहरुलाई दलीयकरण गरे । त्यसैको प्रतिफल थियो भाद्र २३ र २४ । तर तिनकै स्वर ठूलो हुने वातावरण बनाउँदै छ नयाँ नेतृत्वले पनि, यसमा दुःख लागेको छ ।
आन्दोलनको उद्देश्य र गतिअनुसारको काम अहिले भइराखेको छैन । संवैधानिक अंग सबै पुरानै छन्, नियुक्ति सबै पुरानै छन् । सरकारी संयन्त्रहरु सबै पुरानै छन् भनेपछि आउने भनिएको चुनावबाट प्रगति के हुन्छ ? फेरि उही अनुहार आउने हो भने सिंहदरबार ढल्नु र जल्नुको अर्थ के हुन्छ ? त्रिपालमुनि गएको सर्वोच्चको अर्थ के हुन्छ, देशै ध्वस्त हुने गरी भएको आगोको ज्वालाको अर्थ के हुन्छ ? भाटभटेनीको राजनीतिको गन्ध, हिल्टन होटेलको राजनीति अनि त्यसकै कारण देशको दुर्दशा र पर्यटन क्षेत्र तहस नहस हुनुको अर्थ के रहन्छ ? हुने बिरुवाको चिल्लो पात हुनुपर्ने हो, उदाउँदो घामले दिने संकेत सकारात्मक देखिनुपर्ने हो । सरकार परिवर्तनकै लागि मात्र देशमा यति ठूलो रक्तपात, भयावह स्थिति र भयंकर पूर्वाधारको नोक्सान भएको हो त ? सच्चिने कहिले, को र कसरी ? खोइ खाका आएको ? अन्योलतामै बितिरहेको छ समय । नाममात्रको सुशासन कहिलेसम्म ? आशाको दियो बलोस् ।











प्रतिक्रिया