मंसिर १३ मा देशभर महाधिवेशन प्रतिनिधि निर्वाचन, २१ सय प्रतिनिधि सहभागी हुने

प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधि


काठमाडौं ।

नेकपा एमालेले मंसिर १३ गते देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ । यही मंसिर २७ देखि २९ सम्म पोखरामा हुने भनिएको महाधिवेशन अब काठमाडौंमा गर्ने निर्णय गरिएको छ ।

गुण्डुमा शनिवार बसेको सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि हुनेछन् । एक तिहाइ महिला प्रतिनिधि, ४० वर्षभन्दा मुनिका युवालाई पनि आरक्षण छुट्याइएको छ ।

प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिलाई आरक्षण छुट्याइएको छ । महाधिवेशनमा करिब २१००प्रतिनिधि सहभागी हुनेछन् । उपमहासचिव ज्ञवालीका अनुसार पार्टीका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिने छन् ।

प्रतिनिधि छनौट गर्दा प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुल्ला २ र महिला १, त्यसपछि १, ४० वर्षमुनिका युवा, त्यसपछि प्रति ८ सयमा १ प्रतिनिधि (महिला) छनौट गरिने गरी मापदण्ड बनाइएको छ । यसै गरी दलितमा प्रति ५ सय १ प्रतिनिधि, ट्रेड युनियनमा प्रदेशबाट २ : ५ गरी ७ जना प्रतिनिधि, जनसंगठनमा ५, महासंघीयमा ७, प्रदेश कमिटीमा ३ : २ को अनुपातमा प्रतिनिधि छनौट हुनेछन् ।