जेनजी आन्दोलनपछिका घटनाप्रति पूर्व अर्थमन्त्रीहरूको चिन्ता, सरकारलाई राहत र सहुलियत बढाउन सुझाव


काठमाडौँ।

जेनजी युवाहरूको अगुवाइमा भाद्र २३ गते सुरु भएको आन्दोलनको क्रममा भाद्र २४ गते भएका तोडफोड, लुटपाट र आगजनीका घटनाप्रति पूर्व अर्थमन्त्रीहरूले चिन्ता व्यक्त गर्दै आर्थिक र व्यावसायिक क्रियाकलाप अवरुद्ध हुन नदिन आह्वान गरेका छन्।

पूर्व अर्थमन्त्री फोरमको शुक्रबार बसेको बैठकले अराजक समूहद्वारा गरिएका आपराधिक गतिविधिबाट आम नागरिक र व्यवसायी समुदायमा परेको आर्थिक तथा मनोवैज्ञानिक क्षतिप्रति दुःख व्यक्त गरेको छ। फोरमले यस्तो विपरित परिस्थितिमा पनि आर्थिक गतिविधि निरन्तर सञ्चालन गर्न व्यवसायी समुदाय र नागरिकहरूलाई आग्रह गरेको छ।

बैठकले नेपाल सरकारलाई राहत, सहुलियत र सुरक्षाका प्रयासलाई थप प्रभावकारी बनाउन सुझाव दिएको छ। साथै, कर विवरण बुझाउने र ऋण तथा ब्याज भुक्तानीको अवधि अतिरिक्त १५ दिन बढाउन माग गरिएको छ।

फोरमले भाद्र २४ गतेको घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई कारबाही प्रक्रियालाई तीव्र बनाउन पनि सरकारसँग आग्रह गरेको छ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, पूर्व अर्थमन्त्रीहरू प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, वर्षमान पुन, प्रकाशशरण महत, अर्थ सचिव घनश्याम उपाध्याय, राष्ट्र बैंकका गर्भनर विश्व पौडेल र सदस्य सचिव बिमल केडियाको उपस्थिति रहेको थियो।