काठमाडौं
नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि विस्तृत सुझाव पेस गरेको छ।
संघका अध्यक्ष डा. अनिल विक्रम कार्की नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार मन्त्रालय पुगेर मन्त्री गौतमलाई कार्यकालका लागि शुभकामना दिँदै स्वास्थ्य क्षेत्रका प्रमुख चुनौतीहरू समाधान गर्न सुझावहरू प्रस्तुत गरेको हो।
संघले प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत बनाउन, राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, र संघीय, प्रादेशिक तथा स्थानीय तहबीचको निगरानी र जवाफदेहिता स्पष्ट पार्ने प्रस्ताव गरेको छ।
भेटपछि जारी विज्ञप्तिमा संघले देशभरका प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको जनाउँदै मानव स्रोत व्यवस्थापन तथा समायोजनमा देखिएका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ।
“सबै तहका चिकित्सक र स्वास्थ्यकर्मीलाई समान कामका लागि समान पारिश्रमिक नीति तत्काल लागू गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “महिला स्वास्थ्य स्वयंसेविकाको सञ्जाल, स्थानीय सरकार र कानुनी प्रावधानहरूमा सुधार गरी स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा सुधार आवश्यक छ।”
संघले स्पष्ट जिम्मेवारी, पूर्वाधार, मानव स्रोत, वित्तीय प्रवाह र गुणस्तर सुनिश्चित गर्न सबै तहबीच समन्वय अपरिहार्य रहेको बताउँदै सरकारलाई स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि शीघ्र पहल गर्न आग्रह गरेको छ।











प्रतिक्रिया