भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन, अब ३ कागजातसहित ४ शर्त पूरा गर्नुपर्ने


काठमाडौँ।

सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ। अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड शुक्रबारदेखि नै लागू भएको जनाएकाे हाे । विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले ३ कागजातसहित ४ वटा शर्त पूरा गर्नुपर्ने बताए । कम्तिमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने उनले बताएका छन्।

प्रस्थान गर्ने गन्तव्यको हवाई टिकट र आवश्यक कागजातका साथै त्यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने स्वघोषणा भए सहजै विदेश जान पाइने महानिर्देशक तिवारीले बताए । यसअघिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ । यसअघिको ६ बुँदे मापदण्ड व्यवहारिक नभएकाले परिमार्जन गरिएको विभागले गरेकाे छ।

नेपाली नागरिक विदेश गएको कुरामा मात्रै नेपालको ध्यान केन्द्रित भएको तर विदेशबाट आउने नागरिकलाई नेपाल घुम्न सक्छौ की सक्दैनौं भनेर सोध्ने सामथ्र्य नेपालसँग नरहेको महानिर्देशक तिवारीले बताए । अध्यागमनलाई सुरक्षाको दृष्टिकोणबाट बलियो बनाएर जानुपर्ने अवस्था रहेको उनकाे भनाइ छ। अध्यागमनलाई रिडिजाइन, रिथिङ गर्न आवश्यक रहेको उनले बताए ।

महानिर्देशक तिवारीले वैश्विक आवागमनका चुनौती र अवसरकाे बारेमा अध्ययन गर्न जरुरी रहेको बताएका छन् ।