राष्ट्रपति कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जना पक्राउ


काठमाडौँ।

राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन्।

प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा उनीहरूले राष्ट्रपति कार्यालय परिसरमा आगजनी तथा तोडफोड गर्नुका साथै केही सामान समेत चोरी गरेका थिए।
उनीहरूको साथबाट राष्ट्रपति कार्यालयमा प्रयोग हुने प्रिन्टर, वाईफाई राउटरलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि उनीहरूविरुद्ध चोरी तथा आपराधिक उपद्रवको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको छ।