पाठक पत्र : हिउँदे मौसमी प्रभावबाट बचौँ


बंगालको खाडीबाट विकसित चक्रवातको असर धेरैजसो नेपालका पूर्वी र मध्यभागमा देखिएको छ । यसको प्रभाव विशेष गरी कोशी, मधेस र वागमती प्रदेशमा निकै भएकाले यी प्रदेशमा बढी सतर्कता अपनाउनुपर्ने देखिएको छ । काठमाडौं उपत्यकासमेतमा चिसो बढेकोले यहाँको जनजीवनमा प्रभाव परेको छ ।

हुन त नेपालको पश्चिमी भूभागमा समेत मौसमी प्रभाव परेको छ । कतिपय जिल्लामा मंगलबार रातिदेखि नै लगातार हिमपात भएकाले धेरैजना प्रभावित हुन पुगे । सडक तथा हवाई यातायात अवरुद्ध, कृषि र पर्यटन क्षेत्रमा असर पर्ने सम्भावना देखिएकाले सबै तहका निकायलाई सतर्क रहन सरकारी निकायबाट समेत अनुरोध गरिएको थियो ।

हिउँका कारण मनाङ, मुस्ताङ र आसपासका हिमाली क्षेत्रमा पर्यटक तथा स्थानीयवासी फस्ने क्रम बढेको छ । हिमपातका कारण तिलिचो बेस क्याम्पमा फसेका ७५० को उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्तरूपमा उद्धार कार्य गरिरहेका छन् । तिलिचो बेस क्याम्पमा फसेकाहरुलाई सुरक्षित स्थान खाङसारसम्म ल्याइएको र ५० जना पर्यटकलाई अस्थायी आश्रयमा राखिएको समाचार आएको छ । यसरी आफूखुशी विभिन्न स्थानमा यात्रा गर्नेहरु धेरै हुन सक्छन् । उनीहरुका परिवारले सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने देखिन्छ ।

यता मुस्ताङ र म्याग्दीको सीमानामा स्वदेशी र विदेशी गरी १५ जना हिमपातको कारण फसेको जानकारीमा आएपछि उनीहरुको उद्धार कार्य भइरहेको समाचार छ । विभिन्न स्थानमा अलपत्र परेकाहरुका लागि स्वास्थ्य सामग्रीसहितको उद्धार टोली पठाउनु जरुरी छ भने उद्धार कार्यमा संलग्नहरुले समेत आफ्नो स्वास्थ्य सुरक्षामा ख्याल गर्नु जरुरी छ ।
यतिखेर भ्रमणमा निस्किएकाहरुलाई सुरक्षित फर्काउनु र भ्रमणमा जान लागेकाहरुलाई रोक्नु सरकारी निकायहरुको कर्तव्य हो । कोही कतै फसेको वा हराएको थाहा पाएमा तुरुन्त सम्बन्धित निकायमा खबर गर्नुपर्छ भने सबै नागरिकले सतर्कता अपनाउनु जरुरी छ ।

– सनतबहादुर पाख्रिन, पोखरा ।